राजनीतिक दलहरुले भने जस्तै झण्डै अढाइ सय वर्ष अघिदेखिको राज्यसत्ता परिवर्तन भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको चौध वर्ष पूरा भएको छ । विश्वभरि नै यस्तो दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन त्यहाँका नागरिक नै उत्साहित हुन्छन् । परम्परागत रुपमा भनिने एकतन्त्रीय राजतन्त्रात्मक व्यवस्था परिवर्तन भएर गणतन्त्र ल्याइएको डेढ दशकको यात्रा प्रारम्भ हुँदा समेत भनिए जस्तो परिवर्तन आमनागरिकले अनुभूत गर्न नपाएको आमटिप्पणीलाई अस्वीकार गर्ने आधार तयार भएको छैन । यत्ति हो कि एउटा नेतृत्व विस्थापित भयो र सयौं नेतृत्व स्थापित भए । नागरिकको दैन्दिनी हिजोभन्दा अझै कष्टकर, दुष्कर र अत्यासलाग्दो भयो । प्रणाली परिवर्तन गर्ने निर्णायक शक्ति भनेकै जनता हुन्, तर गणतन्त्र प्राप्तिपछि उनीहरु गौण बनाइए, दल र तिनका नेताहरुको हालीमुहाली बढ्यो ।

विश्वको इतिहासमा परम्परागत राजतन्त्र सजिलै समाप्त भएका छैनन् । तर, नेपालमा राजा स्वयम् राज्यसत्ता जनताको हातमा सुम्पिएको घोषणा गर्दै दरवारबाट बाहिरिए । राजनीतिक दलहरुले गणतन्त्रको स्थापनापछि पूरा गर्छौं भनेका वाचा र प्रतिबद्धता के–कति पूरा भए त्यो सबैका सामू प्रष्ट छ । त्यतिखेर स्थीर शासन, शान्ति र समृद्धिको प्रत्याभूतिको वाचा गरेका दलहरुले आज यतिका वर्ष बितिसक्दा पनि सत्ता मोह त्याग्न सकेका छैनन् । हजारौं, लाखौंको त्याग, संघर्ष र कैयनको बलिदानबाट प्राप्त उपलब्धी अझै संस्थागत हुन सकेको छैन । जसका कारण गणतन्त्र स्वयम् चुनौतिको सामना गरिरहेको छ । देशका सम्पूर्ण राजनीतिक शक्तिहरु खासगरी सत्तारुढ र मुख्य प्रतिपक्षी दलहरु एकअर्कालाई दोष दिएर ‘पानी माथिको ओभानो’ हुने कसरतमा छन् ।
नेपाली बहादुर मात्र होइनन्, संयमित जाति पनि हुन् । त्यहीकारण सत्ता र राजनीतिक दलहरुको भद्दा र फोहरी दोहोरीका बीचमा पनि धैर्य गरिरहेका छन्, कतै उनीहरुको मति फेरिन्छ कि ठानेर । आशा, अपेक्षा र धैर्य गर्ने नेपाली जनताको स्वभावलाई बुझ्न र आफ्ना प्रतिबद्धताहरु पूरा गर्न उनीहरु लागेनन् भने जनताको विद्रोहको सामना गर्ने शक्तिको अभाव हुनेछ । इतिहासले पनि त्यही सिकाएको छ र वर्तमानले पनि हर्क राई, बालेन्द्र साहहरुलाई आफ्नो प्रतिनिधि बनाएर आफूमा निहित सार्वभौम मताधिकार प्रदेश र संघीय निर्वाचनमा विद्रोहकै रुपमा प्रकट नहोला भन्न सकिन्नँ । नेपाली सुनौलो सपना देखेर भविष्यप्रति आशावादी हुने जाति हो, अझै धैर्य गर्दैछन् । राष्ट्रिय एकता, स्वाधीनता र देशप्रेमको भावनाले निथु्रक्क भिजेको चेतना अगुवाहरुकै पूर्वाग्रह स्वार्थ र दम्भले सुक्यो भने त्यसले सिर्जना गर्ने आँधीलाई कसैले रोक्न सक्ने छैन ।




























