१५ वर्षदेखि खोरमा दीपक उद्धारका लागि अनुरोध

0
350

ताप्लेजुङ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का दीपक भट्टराई विगत १५ वर्षदेखि एउटै खोरमा थुनिएका छन् । उनमा एक्कासी मानसिक समस्या आएपछि परिवारले खोरमा थुनेर राखेको हो ।

छोरा दीपकमा एक्कासी परिवर्तन भएपछि उसलाई खोरमा थुनेर राख्नुपरेको उनका बुवा डिल्लीराम भट्टराईलाई उदृत गर्दै वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिए । वडाध्यक्ष सेन्दाङका अनुसार उनलाई काठको ठूलो खोरमा थुनेर राखिएको छ । २०४६ माघ १९ गते जन्मिएका भट्टराई विगतमा चतुर तथा चलाख रहे पनि उनमा एक्कासी मानसिक समस्या आएपछि परिवारले उनलाई थेग्न नसकेका कारण खोरमा थुनेर राखेका हुन् ।

परिवारमा ७० वर्ष माथिका आमाबुवा मात्रै रहेका कारण उनलाई स्याहार–सुसार त के समयमा खाना समेत दिन नपाएको परिवारको गुनासो रहेको छ । आफ्नो छोरालाई यस्तो समस्या आएपछि परिवारले विगतमा पनि स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई पटक–पटक हारगुहार मागे पनि उद्धारका लागि कसैले पहल नगरेको परिवारका आफन्तको गुनासो रहेको छ ।

उनले सरकारले प्रदान गर्ने अपाङ्गता भत्ताभन्दा अन्य केही सुविधा नपाएको र उपचार सम्भव भए स्थानीय सरकारले पहल गर्नका लागि आफू लागीपर्ने र परिवारमा खुशी फर्काउने वडाध्यक्ष सेन्दाङले बताए । अहिले पनि दीपक एउटै खोरमा रहेको अवास्थामा पनि युवाहरुलाई केही नगर्ने तर बालबालिका र वृद्धवृद्धालाई भने लम्की–झम्की गर्ने गरेका छन् । उनलाई खान दिन पनि परबाट फाल्नु पर्ने अवस्था रहेको छ ।

वडाध्यक्ष सेन्दाङका अनुसार हाल उनलाई छुच्चो कुकुरलाई जस्तो परैबाट खाना दिने गरे पनि समयमा खान समेत पाएका छैनन । हाल उनी खोरभित्र एकै ठाउँमा खाने बस्ने र दिसा–पिसाब गर्ने गरेका छन् । आर्थिक विपन्नताका कारण पनि परिवारले उनको उपचार गर्न नसकेको अवस्थामा आफू जनप्रतिनिधि भएका कारण उनको उद्धार र उपचारका लागि आफ्नो पहल रहने सेन्दाङको भनाइ छ ।

वडाध्यक्ष सेन्दाङले सामाजिक सञ्जाल फेसबुकमा उनको अवस्थाबारे जानकारी दिँदै आफू वडाध्यक्ष भएको नाताले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी सबैलाई जानकारी गराउँदै सबैले रायसल्लाह अनि उद्धारका लागि सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here