राजनीतिलाई स्वच्छ बनाऊ

0
117

नेपाली राजनीति सत्ता र शक्ति मात्रै हुन थालेको छ । समाज र देशको सेवा गर्ने पवित्र भावना र कर्म हाम्रो सन्दर्भमा अमिल्दो छ । सत्ता र शक्ति प्राप्ति र आर्जनका लागि गरिने राजनीतिले जनताको भलो नहुने मात्र होइन राष्ट्रको अस्मितामाथि नै कलंक लाग्छ । नेपाली राजनीति त्यही दिशातर्फ निर्देशित भएको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ । नेपालीलाई नागरिकताविहीन बनाएर अमेरिका पु¥याउने प्रयत्न त्यसकै उदाहरण हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउन सरकारमा रहेकाहरु त्यसमा पनि गृहमन्त्री, उच्च पदस्थ राष्ट्रसेवक नै संलग्न भएको तथ्य फेला पर्नु राजनीतिक अपराध कर्म गर्ने प्रमाणपत्र सावित हुनु हो ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका चौध जना प्रहरी अनुसन्धानमा छन् । अझै केही प्रहरीको खोजीको सूचीमा छन् । घटना बाहिर आएलगत्तैको चर्चा यद्यपि क्रमशः धुमिल हुँदै गएको छ, तर नागरिक समाज भने दिनहुँ प्रदर्शन र बिरोधसभाको माध्यमबाट प्रहरी, सरकार र सम्बद्ध पक्षलाई खबरदारी गरिरहेको छ । विगतमा भ्रष्टाचारका घटना सार्वजनिक भएकै हुन्, ती मध्ये केही मात्र कानूनको दायरामा आए र दण्डित पनि भए । तर, त्यसपछिका ठूला–ठूला भ्रष्टाचारजन्य अपराध कर्महरु ‘तैँ चुप मैँ चुप’ भएका छन् । राजनीतिलाई पैसा कमाउने माध्यम बनाएका नेताहरु त्यसकै माध्यमबाट सन्तान दरसन्तानका लागि धन आर्जन गर्न लागेको उनीहरुको जीवनस्तरले देखाइ रहेको छ ।

राजनीतिमा देखिएको आजको अवस्थाले राजनीतिलाई ठगी, अपराध र भ्रष्टाचारको माध्यम बनाएको छ । नेताहरुमा नैतिकता, आदर्श, सदाचारिताको खडेरी परेको यो अवस्थाले कानूनी राज्यको उपहास गरेको छ । सिद्धान्त, निष्ठा, इमान, धर्म र नैतिकताको यो खडेरीले देशलाई कहाँ पु¥याउँछ टुंगो छैन । श्रम, सिप, क्षमताको उपयोग बिनै पैसा कमाउने, विलासीतापूर्ण जीवन भोग्ने लालसाले असाध्य रोग हुर्काइरहेको सन्दर्भमा भोलिको नेपाल र नेपाली राजनीति असफल हुन नदिन वर्तमान सरकारले लाग्नैपर्छ । नेपाली राजनीतिलाई स्वच्छ, सेवामूलक, मूल्य–मान्यतासहितको र मर्यादित बनाउन प्रहरीले पनि खुट्टा दह्रो टेक्नुपर्छ । सरकार र प्रहरी दुबैलाई बलियो बनाउन नागरिक समाजसँगै सबैको दवाव, सहयोग र साथ हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here