आज अंग्रेजी महिनाको मे १ तारिख । आजको दिनलाई श्रमिक आन्दोलनको उत्सवका रुपमा मनाइन्छ । मजदुर दिवस वा मे दिवसका रुपमा समेत लिइने यो दिन मूलतः आन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा विश्वव्यापी रुपमा मनाइने गरेको छ । १९औं शताब्दिको औद्योगिकीकरणको युगमा युरोपमा उद्योगपतिहरुले मजदुरहरुलाई थोरै पारिश्रमिक दिएर १५ घण्टासम्म काममा लगाउने गरेका थिए । आफूहरुमाथि आर्थिक तथा शारीरिक शोषण भएको भन्दै अमेरिकामा कार्यरत मजदुरले मे १, १८८६का दिन उपयुक्त ज्याला, आवश्यक विदा सुविधा र श्रममैत्री वातावरणको आवाज उठाए । उनीहरुले प्रत्येक आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनुपर्ने माग गरे । आफ्नो मागसहित प्रदर्शनमा उत्रिएका मजदुरमाथि सरकारले गोली चलायो । कैयौं प्रदर्शनकारीको हत्या भयो । त्यही प्रदर्शन र आन्दोलनको बलमा श्रमिकहरुको मागको सम्बोधन भयो । त्यही दिनको सम्झना गरिन्छ विश्वभरि नै मे दिवसका रुपमा ।

फ्रान्सको राजधानी पेरिसमा सन् १९८९मा भएको विश्व श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर बनाउने निर्णय गरेको थियो । त्यसकै आधारमा सन् १८९०देखि हरेक बर्ष अंग्रेजी मे महिनाको १ तारिखमा श्रमिक दिवस मनाउन थालियो, जो आज पनि श्रमिकहरुको मुक्ति दिवसको रुपमा मनाउने गरिन्छ । सेवासुविधा, हकहित, अधिकार र सुरक्षाका लागि आफंै उठ्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने यो दिवस नेपालमा पनि सार्वजनिक बिदा दिएर मनाउन थालिएको छ । यसै अनुसार देशमा क्रियाशील मजदुरहरुका ट्रेड युनियनहरुले उत्सवका रुपमा मनाउने यो दिवसले विश्वभरका श्रमिकहरुको हकअधिकारको सुरक्षा गर्दै राष्ट्रको समृद्धिमा योगदान दिनुपर्छ ।
नेपालमा पछिल्लो समय श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजना ल्याइएको छ । श्रमिकहरुको न्यूनतम् पारिश्रमिक बृद्धि गरी उनीहरुको सुरक्षाको प्रयास गरेको छ । यस अनुसार योजनामा सहभागी श्रमिकहरुले औषधोपचार, स्वास्थ्य, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्धावस्था सुरक्षा योजना अन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् । अबको आवश्यकता भनेको सरकारले निर्धारण गरे अनुसारको सेवा–सुविधा र पारिश्रमिक श्रमिकहरुले पाइरहेका छन्÷छैनन् त्यसको अनुगमन गर्नुपर्छ । अहिले पनि कतिपय निजी प्रतिष्ठानहरुले निर्धारित पारिश्रमिक तथा सेवासुविधा पाएका छैनन् भन्ने टिप्पणी भइरहेको छ । यसमा उचित चासो देखाएर राष्ट्रिय आयको मूल स्रोत र आधारका रुपमा रहेका श्रमिकहरुको संरक्षण गर्न आजको दिनले सरकार र सम्बद्ध निकायलाई सजग गराउनुपर्छ ।



























