साँखेजुङवासीलाई प्राथमिक उपचार पाउनै समस्या

0
10

बिनोद पाण्डे,
चारपाने ।

नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न राज्यले प्रत्याभूत हुने गरी काम नभएको पाइएको छ । यसले सरकारले अझै पनि पहाडी क्षेत्रमा स्वास्थ्य क्षेत्रतर्फ खासै ध्यान दिन नसकेको पाइएको हो ।

अझ पहाडको ग्रामीण क्षेत्रमा त झन् नागरिकले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा सेवा उपभोग गर्न पाउनु त कता हो कता पहिले नै स्थापना भएका स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य उपचार पनि पाउन सकेका छैनन् ।

एकात्मक राज्य सञ्चालन हुँदा दुर्गम गाउँहरूमा विकास पुग्न सकेन, यस्तो राज्य व्यवस्थाले नागरिक पिडीत भए भनेर राज्य व्यवस्था परिवर्तन गर्न जनतालाई अग्रसर बनाएर अहिले सत्ताको स्वाद चाखिरहेका नेता र मन्त्रीहरूले जनतालाई झुक्याए । जनताको आधारभूत सुविधातर्फ खासै सोच्न सकेका छैनन् भनेर जनतामा नयाँ व्यवस्था प्रति वितृष्णा उत्पन्न हुन थालेको छ ।

गाउँ–गाउँमा सिंहदरवार पु¥याऔं भनेर भाषण गर्नेे इलाम जिल्लाका नेता, सांसद र पूर्व मन्त्री, मन्त्रीहरूलाई इलाम नगरपालिका वडा नम्बर –१ साखेजुङ नेपालटारका नागरिकहरूले आश्वासन बाँढ्ने दानीहरू भन्ने नजरले हेर्न थालेका छन् ।

साखेजुङका नागरिकको तर्फबाट सरकार समक्ष धेरै मागहरू रहेका छन् । मागहरू मध्ये स्थानीय स्वास्थ्य चौकीको व्यवस्थापन पहिलो रहेको छ । २०३५ सालमा स्थापना भएको साखेजुङ स्वास्थ्य चौकीको भौतिक पूर्वाधार कमजोर तथा आवश्यक स्वास्थ्य उपकरण र औषधि विहीन अवस्थामा रहेको छ । पञ्चायतकालमा स्थापना भएको स्वास्थ्य चौकी ४५ वर्ष पछि गणतन्त्र व्यवस्थामा आइपुग्दा आधारभूत स्वास्थ्य चौकी बन्न पुगेको छ ।

नजिकै अर्को सुविधायुक्त स्वास्थ्य चौकी निर्माण भएर साखेजुङ स्वास्थ्य चौकीको अवस्था भने कमजोर बनाइएको होइन । भएको स्वास्थ्य चौकीको उचित व्यवस्थापन हुन नसकेका कारण अहिले स्वास्थ्य चौकी बेहाल अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य चौकीको अवस्था हेर्दा सो ठाउँमा कोही पनि नेताले ध्यान नदिएको प्रस्ट हुन्छ । स्थानीय सरकार इलाम नगरपालिकाले पनि स्वास्थ्य चौकी विकासमा काम गर्न सकेको छैन ।

साखेजुङ स्वास्थ्य चौकीमा सेवा लिने नागरिकहरूको संख्या ३ हजार ५ सय रहेको छ । स्वास्थ्य चौकीमा सेवा लिन भनेर दैनिक सरदर ३ सय जना स्वास्थ्य चौकीमा आउने गरेको स्वास्थ्य चौकी प्रमुख पूजा भट्टराईले जानकारी दिइन् । स्वास्थ्य चौकीमा ४ जना स्वास्थ्यकर्मीहरू कार्यरत छन् ।

सेवाग्राहीहरू सेवा लिन आउने गरेपनि सरकारले तोकेको सेवा सुविधाहरू स्वास्थ्य चौकीबाट उपलब्ध भइरहेको छैन । सरकारले स्वास्थ्य चौकीका लागि आवश्यक पर्याप्त सामग्री, औषधिहरू उपलब्ध नगरे पछि सेवाग्राहीहरू स्वास्थ्यकर्मीहरूसँग भेट गरेर घर फर्कन बाध्य हुँदै आएका छन् ।

स्वस्थ चौकीको कमजोर व्यवस्थापकीय अवस्थालाई देखेर स्थानीयवासीले सकेको प्राविधिक सामग्रीहरू सहयोग गर्ने गरेका छन् । सोही क्रममा सोही स्थानमा जन्मिएर हुर्केका हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका बिनोद बस्नेत र राजु ढकालले एउटा प्रिन्टर सहयोग गरेका छन् ।

इलाम – १ का वडाध्यक्ष गायत्री बस्नेतको रोहबरमा उक्त प्रिन्टर बस्नेतले हस्तान्तरण गरेका हुन् । २५ हजार मूल्यको प्रिन्टर बस्नेतले स्वास्थ्य चौकीमै पुगेर हस्तान्तरण गरेको स्वास्थ्य चौकी प्रमुख भट्टराईले जानकारी दिइन् । प्रिन्टर हस्तान्तरण कार्यक्रममा स्थानीय राजु बस्नेत, विपीन बस्नेत, मोहन गुरुङ, ज्ञानेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here