बाढीपहिरो लक्षित सक्रियता चाहियो

0
4

यस वर्षको मनसुनमा कोशी र कर्णाली प्रदेशमा ठूलो क्षति हुन सक्ने आंकलन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखा तथा जल तथा मौसम विभागले यस्तो अध्ययन तथा आंकलन गर्दै कोशी लगायत जोखिमयुक्त प्रदेशहरुमा प्रतिकार्य योजनालाई तीव्रता दिन सुझाएको थियो । यसै सन्दर्भमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत यस वर्ष ठूलो जनसंख्या मनसुनजन्य विपत्बाट प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले कोशी प्रदेशमा पहिरोको जोखिम उच्च रहेको भन्दै अघिल्लो वर्षको भूकम्प र त्यसपछि जथाभावी खनिएका बाटा, बस्ती र भौतिक पूर्वाधारका कारण क्षति बढी हुन सक्ने जनाएको छ ।

प्राधिरणका विषयविज्ञ राजेन्द्र शर्माले पहिरोको जोखिम वर्षाको पानी व्यवस्थापनसँग जोडिएको भन्दै वर्षाको पानीको व्यवस्थापन नगरिँदा पहिरोको समस्या विकास अत्याचारको परिणाम भएको उल्लेख गरेका छन् । जल तथा मौसम विभागको प्रक्षेपणको संकेत पनि देखिइसकेको छ । भनिए जस्तै कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूका आमा, बुवा र दुई बहिनीको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले उक्त घटनाको जानकारी दिँदै घरमाथिबाट मध्यरातमा खसेको पहिरोका कारण ठूलो क्षति भएको पुष्टि गरेका हुन् । सोही पहिरोमा परेर युगेन लिम्बू र उनकी छोरी घाइते भएका छन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाइसकेको छ । पुल बगाएका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयलाई कष्ट थपिएको छ । वर्षा लाग्न नपाइ भएको विनाशले आउँदा दिनहरु कति कष्टपूर्ण र जोखिमयुक्त हुन्छन् सहजै अनुमान गर्न सकिन्छ । यसै पनि मानवीय गतिविधिका कारण पृथ्वीको जलवायु तथा वातावरण प्रभावित भइरहेको छ, त्यसमाथि जल तथा मौसम विभागको अनुमान जस्तै मनसुनजन्य विपत् पूर्वी नेपालबाट प्रारम्भ भएको छ । यस्तोमा अझै पनि सरकार, सम्बद्ध पक्ष र आमनागरिक सचेत नहुने र प्रकृतिबिरुद्धको गतिविधि नियन्त्रण नगर्ने हो भने परिणाम भयावह हुने पक्का छ ।

सानो भूगोल भइकन पनि मौसम तथा हावापानीको विविधता नेपालको विशेषता नै हो । पूर्वी नेपालमा वर्षा र बाढीपहिरोको कष्ट बढेको बेला मध्य तथा पश्चिम तराईमा भने असाध्यै गर्मी छ । जहिल्यै चिसो हुने काठमाडौं उपत्यकामा समेत यो वर्ष गर्मी बढेको छ । भारतको सिक्किम हुँदै नेपाल प्रवेश गरेको मनसुनले मानवीय क्षति गर्नुअघि पुल बगाएको थियो भने काबेली तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुर सविन राईको मृत्यु भएको थियो । वर्षा शुरु अघिका यी तस्वीरहरुले सम्भावित जोखिमको संकेत गरेको छ र उद्धार तथा पुनस्थापनातर्फ सचेत गराएको छ । सरकारले यी सबै परिस्थितिको सामना गर्ने अग्रसरता र सक्रियता तत्काल बढाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here