कमल ।
राष्ट्रिय धान दिवस देशभर विविध कार्यक्रम गरेर मनाइएको छ । यसै क्रममा झापाको कमल गाउँपालिकाले समेत आज विविध कार्यक्रम गरेर २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
“जल वायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूलनाराका साथ २१ राष्ट्रिय धान दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा कमल गाउँपालिका ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्था तथा इन्द्रेणी कृषक समुहको व्यवस्थापनमा सामूहिक रोपाइ गरेर राष्ट्रिय धान दिवस मनाइएको हो ।
नौमती बाजागाजासहित गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले मेसिन बाट धान रोपेर २१ राष्ट्रिय धान दिवस मनाउनु भएको थियो । मेसिन बाट धान रोप्नु भन्दा पहिले औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
कमल गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको र कृषिलाई प्रविधि मैत्री बनाउँदै लाने निती तथा कार्यक्रम समेत समेटिएको कमल गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।
मुख्य अन्नबालीको रुपमा रहेको धानको उत्पादन बृद्धि कालागी गाउँपालिकाले धान दिवसलाई विशेष महत्व दिएर धान दिवस मनाउँदै आएको छ । कृषि उत्पादनमा वृद्धि गर्न हामीले पालिकाको तर्फ बाट कृषकलाई अनुदान मार्फत विभिन्न यन्त्र उपकरण वितरण गर्दै आएको उपाध्यक्ष न्यौपाने तिवारीले बताउनुभयो ।
कृषिमा यान्त्रि करण प्रयोग गरेर उत्पादनमा वृद्धि गर्न पालिकाले मात्र सम्भव छैन त्यसका लागि निजी क्षेत्र समेत सक्रिय रुपमा लाग्नुपर्ने हुन्छ । निजी क्षेत्रले उत्पादन गरेका बस्तु बिक्री वितरणमा गाउँपालिकाले आवश्यक व्यवस्था मिलाउने कमल गाउँपालिकाका आर्थिक विकास प्रमुख केदार कटुवालले बताउनुभयो ।
कार्यक्रममा सहकारी कृषि समुहका तर्फ बाट दीपक आचार्य र सहकारीका तर्फ बाट शोभा उप्रेती लगायतले समेत २१ राष्ट्रिय धान दिवसका अवसरमा बोल्नु भएको थियो ।
कमल गाउँपालिका ६ नम्बर वडा अध्यक्ष नगेन्द्र भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रममा कृषक समुहका प्रतिनिधि रमेश निरौलाले स्वागत गर्नु भएको थियो भने कार्यक्रम कृषि शाखा प्रमुख महेन्द्र बोहोराले सञ्चालन गर्नुभएको थियो ।