युट्युबमा छाए तीज गीत

0
9

गण्डकी,

गायिका शान्ति श्री परियारद्वारा स्वरबद्ध तीज गीत ‘काली पसम् कि..’ केही दिनयता युट्युब ‘ट्रेन्डिङ’को पहिलो स्थानमा छ । यही साउन चार गते ‘प्रेम सापकोटा सोनु’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियोलाई हालसम्म ३७ लाख बढीपटक हेरिएको छ । प्रेम सापकोटा ‘सोनु’को शब्द र सङ्गीत रहेको उक्त गीतको भिडियोमा कलाकार स्मारिका ढकाल र जोन बम ढकुरीले नृत्य तथा अभिनय गर्नुभएको छ । पराइ घरमा हेला र प्रताडाना सहन नसकी माइतीघर र आमा पुकारीरहेकी चेलीको वेदनामा आधारित उक्त गीतलाई दर्शक÷स्रोताले अत्यधिक रुचाएका हुन् ।

यस्तो गीत

‘जसलाई सुनाएनि दुःखै बढ्ने रैछ
छोरी रुने ठाउँ त आमाकै काख हैछ
सबै आमा हौ मेरो जुन घाम हौ
छोरीको आँशु रोक्ने दबाइ आमा हौ…’

तीज पर्व आउन २७ दिन बाँकी छ । दैनिकजसो युट्यबुमा नयाँनयाँ तीजका भाका गुञ्जिन थालेका छन् । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । छोरीचेलीका दुःख, वेदनादेखि प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी–प्रेमीकाबीचको मायावी सम्वाद पनि गीतमा सुन्न पाइन्छ । गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको ‘पिर कल्लाई छैन र…’ युट्युब ट्रेन्डिङको दास्रो नम्बरमा छ । गत शनिबार गायिका डल्लाकोटीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको भिडियोले यो समाचार तयार पार्दासम्म नौ लाख १७ हजारभन्दा बढी ‘भ्यूज’ पाएको छ ।

अघिपछि दिनचर्या जेजस्तो भएपनि तीजका दिन सैँसाथी भएर रमाउनुपर्छ भन्ने भाव र सन्देश गीतमा छ । प्रकाश पराजुलीको सङ्गीत र गायिका डल्लाकोटीको आफ्नै शब्द रहेको उक्त गीतले यसो भन्छ –

‘फुर्सदै थिएन हिजको दिन त
के मरी मेट्नु तीजको दिन त
हैन र ए सङ्गिनी हैन र
अरुको अघि रमाउनै पर्छ
रुम त भने पीर कल्लाई छैन र…’

गायिका एलिना चौहानको तीज गीतलाई पनि युट्युबमा रुचाइएको छ । दुई साताअघि सार्वजनिक उक्त गीतको भिडियोलाई अहिलेसम्म २० लाभन्दा बढीपटक हेरिएको छ । नेत्र अर्यालको शब्द र दीपक शर्माको सङ्गीत रहेको उक्त गीत अहिले युट्युब ट्रेन्डिङको आठौँ स्थानमा छ । गत असारदेखि नै तीज गीत युट्युबमा छाउन थालेका हुन् । सङ्गीत बजार अहिले युट्युबमा केन्द्रित छ । अडियो क्यासेट इतिहास भइसक्यो । तीजलगायत पर्व गीतकामार्फत पनि कलाकारले व्यावसायिक लाभ उठाउँछन् । युट्यबमा धेरै ‘भ्यूज’ बटुल्ने ध्येयले अचेल तीज गीत छिट्टै सार्वजनिक गर्ने गरिएको छ ।

गत असार १३ गते ‘भावना म्यूजिक सोलुसन’ युट्युब च्यनलबाट सार्वजनिक तीज गीत ‘बरिलै’लाई हालसम्म ४० लाख बढीपटक हेरिएको छ । बिमल अधिकारीको लेखन तथा सङ्गीत रहेको उक्त गीतमा समीक्षा अधिकारी र मोहन खड्काले स्वर दिनुभएको छ । गीतको भिडियोमा बिमल अधिकारी र आश्मा विश्वकर्माको नृत्य तथा अभिनय रहेको छ ।

‘हेर्छौँ लुकीलुकी’, ‘आफ्नै पारामा’, ‘रहरैमा’, ‘सहरिया छोराबुहारी’, ‘सैनाले दिएको एैना’, ‘बालेनको सहर’, ‘माछी’लगायत तीज गीत युट्युबमा छाएका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सँधै चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत सार्वजनिक गर्ने लहरै चल्छ । क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्यूज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक÷कलाकारलाई युट्युबाट पैसा आउँछ ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीर, वेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । तीज गीतका नाममा सो गीतको मौलिकता माथि खलल पुग्ने गरी गाइएका कतिपय गीत विवादमासमेद पर्दै आएका छन् । केही साताअघि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गरेको थियो । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले माफी नै माग्नुपरेको थियो ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएका थियो । यस वर्षपनि दर्जनबढी त्यस प्रकृतिका गीत विवादित बनेका छन् । तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पु¥याएकामा लोकसङ्गीतप्रेमी चिन्तित छन् । पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरुको बुझाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरुले तीज गीतलाई पनि विकृत पारेको बताउनुभयो । “नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ”, उहाँले भन्नुभयो, “सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरु लागिपरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here