मानव–हात्ती द्वन्द्व चुनौती र समाधान

0
118

बितेको पच्चीस वर्षमा हात्तीको आक्रमणबाट नेपालमा तीन सय पैंतालीस जनाको मृत्यु भएको छ । यसबीचमा मानिसको आक्रमण र करेन्ट लागेर पचपन्न वटा हात्ती मरेका छन् । हात्तीको आक्रमणबाट भएको भौतिक क्षति, कृषि, पशु र बालीनालीमा भएको क्षतिको परिमाण पनि ठूलो छ । जंगलमा रहने हात्तीले गर्ने मानवीय तथा भौतिक क्षतिले उत्पन्न हुने हात्ती र मानवका बीचको द्वन्द्वलाई न्यूनीकरण गर्न अब संघ मात्र होइन प्रदेश र स्थानीय सरकारको पनि प्राथमिकतामा रहनु पर्दछ । पछिल्लो समय मानव–हात्तीका बीचको द्वन्द्व भयावह बन्दै गएकाले त्यसको समाधानका लागि शिक्षा र चेतना विस्तारका साथै स्थानीय जनताले वैकल्पिक खेतीका बारेमा पनि सोच्नु पर्छ ।

पूर्वी नेपाल हात्ती प्रभावित क्षेत्र हो । भारत हुँदै पूर्वी किनारबाट प्रवेश गर्ने हात्तीले झापाका प्रायः सबै पालिकामा कुनै न कुनै रुपले क्षति पु¥याएका छन् । पछिल्लो पटक बिर्तामोड–७ मा ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट ज्यान गएको छ । यसअघि जेठ २० गते कमल–३ मा विद्युतको करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय झापाका अनुसार विगत सत्र वर्षमा हात्तीको आक्रमणमा परी चौहत्तर जनाको ज्यान गएको छ । त्यस्तै विगत बीस वर्षसम्ममा प्राकृतिक रुपले नै पच्चीस वटा हात्ती मरेका छन् । भारतको पश्चिम बंगालबाट झापाको बाहुनडाँगी हुँदै नेपाल आएका हात्तीहरु मोरङ, सुनसरी जिल्लाका वन क्षेत्रमा पुग्ने गरेका छन् । यसक्रममा आहार र बासस्थान साँघुरिएका वन क्षेत्रका आसपासका मानव बस्तीमा हात्तीले क्षति गर्ने गरेका छन् ।

खानाको अभाव र विचरणमा अवरोध आएका कारण हात्तीले मानव बस्ती र अन्नबालीमा क्षति पु¥याउने गरेको वन अधिकृत भरतबाबु श्रेष्ठले बताएका छन् । बर्सेनिको हात्तीजन्य पीडाका कारण हात्तीमाथि आक्रमण हुँदा हात्ती पनि आक्रामक हुने घटनाहरुले देखाएका छन् । त्यसैले हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न वन मन्त्रालय र सरकारले सुरक्षाका उपाय अवलम्बन गर्दै आएको छ । यद्यपि सरकारको प्रयासले हात्ती न्यूनीकरण गर्न नसक्दा स्थानीय जनताले मानवबस्तीलाई जोगाउन होहल्ला गर्ने, पटका पड्काउने, हात्तीलाई घेर्ने र साइरन बजाउने जस्ता क्रियाकलाप गर्दा द्वन्द्व झनै बढेको छ । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार एक वर्षको अवधिमा झापामा हात्तीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । यस्तो क्षतिबाट जोगिन हात्तीको जैविक मार्गको व्यवस्थापन, संरक्षण, बासस्थानमा पूर्वाधार निर्माण हात्तीले नरुचाउने बालीको प्रवद्र्धन, वनजंगलको संरक्षण र चेतना अभिवृद्धि गर्न लाग्नु पर्दछ । सरकारको योजनाविहीन विकासले वन्यजन्तु, उनीहरुको बासस्थान र जैविक विविधतालाई नष्ट गरेका कारण भइरहेको द्वन्द्व न्यूनीकरणमा सम्बद्ध पक्ष बढी जिम्मेवार बन्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here