सम्पादकीय
मदिरा सेवनका कारण एउटै गाउँका १५ जनाको ज्यान गएको समाचार प्रकाशमा आएको छ । २ नम्बर प्रदेशको जनकपुर उपमहानगरपालिका–७को मुसहरी टोलका उनीहरुले घरेलु मदिरा सेवन गरेको बताइएको छ । मदिरा पनि स्वयम् ‘तामसी’ वस्तु हो भनिन्छ । तामसी खाद्यवस्तुले शरीर, मन र विचारलाई उत्तेजित र विकारयुक्त बनाउँछ । त्यसैले मानिसले शाकाहारी हुनुपर्छ र जन्मैले मानिस मांसाहारीमा पर्दैन भनिएको पनि छ । परम्परागत मान्यता अनुसार निषेध गरिएका यस्ता कतिपय वस्तु मानिसले लहै–लहैमा, संगतमा परेर वा देखासिकीमा सेवन गर्ने गरेका छन् ।
होलीका नाममा भित्र्याइएका कतिपय वस्तुले मानव स्वास्थ्यमा गम्भीर वा प्रतिकूल असर पार्दछ । स्वास्थ्य विज्ञानले समेत रङ्मा मिसाइने रसायनले छालादेखि भित्र अंगहरुमा समेत असर पार्ने जनाएको छ । अनि पनि नेपालीले ‘हुँदैन’ भनिएकै काम गर्नुपर्ने, खानुपर्ने र नक्कल गर्नुपर्ने गरीब मानसिकता त्यागेका छैनन् । परिणाम होलीको निहुँमा लागूपदार्थ, मद्यपान सेवन गरेकै कारण कतिपय घटनाहरु दुर्घटना बन्न पुगेका छन् । त्यही होलीको वहानामा मुसहरी टोलका उनीहरुमध्ये शनिवारसम्ममा १५ जनाले ज्यान गुमाइसकेका छन् । न्यून आर्थिक जीवन भएका उनीहरु दलित परिवारका समेत हुन् ।
परिवारको आधार रहेका सदस्यहरुकै निधनका कारण आश्रित सदस्यले भोग्नुपर्ने पीडा शब्दले व्यक्त गर्दैन । व्यापारीले केवल आर्थिक लाभ मात्र हेर्ने कारणले यस्ता निषेधित र नियन्त्रित वस्तु खुलेआम किनबेच भइरहने गरेको छ । अझ घरेलु उत्पादनका मदिरामा फोहर खान नहुने वस्तु मिसाउने गरेको घटना विगतमा पनि सार्वजनिक भइरहेकै हुन् । तर, त्यस्तो अनियमित र अवैध कार्य गर्नेहरु कानूनद्वारा दण्डित नहुने परिपाटीले विकृति र सामाजिक अपराध बढ्दै गएको छ । त्यसकै उदाहरण भएको छ उल्लेखित घटना । मदिरा सेवन गर्नेलाई हिजोआज सभ्यतासँग जोड्न थालिएको छ । त्यसैकारण आम मानिस मदिराप्रेमी हुँदै गएका हुन् । यसको निरन्तरताले आर्थिकदेखि शारीरिक तथा मानसिक क्षति हुनेतर्फ समाजको ध्यानाकर्षण हुन जरुरी छ ।
घटना भइसकेपछि पश्चताप गरेर क्षतिको भरपाई हुँदैन । विश्व स्वास्थ्य संगठनले अहिले विश्वको टाउको दुखाई भएको कोरोना भाइरसको संक्रमण शाकाहारीमा नभेटिएको उल्लेख गरेको छ । यसले पनि मानिसलाई तामिस प्रवृत्ति त्याग्न र निराभिष बन्न प्रेरणा दिनुपर्दछ । मद्यपान वा लागूपदार्थको सेवनको प्रबृत्तिबाट व्यक्ति मात्र होइन परिवार, समाज हुँदै राष्ट्रले नै पीडा र क्षति व्यहोर्नु पर्दछ । त्यसकारण पनि आफ्नो लहड वा आदतले अरुहरुलाई समेत पार्ने असर र क्षतिबाट जोगाउन स्वयम्को सचेतना आवश्यक छ ।




























