आलोचनाबाट नतर्स

0
713

सम्पादकीय

कोभिड-१९ का कारण विश्वमा चार लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ। हाम्रैमा पनि यसको कहर खप्न नसकेर उन्नाइस जनाको जीवन अन्त्य भएको छ। अझै छ हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित छन्। यसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि गरिएको तालाबन्दी जेठ ३२गतेसम्म कडाईका साथ लागू पनि गरियो ।तर परिणाम अपेक्षा गरिए अनुरूप आएन। अर्थात् बन्दीको अबधि बढ्दै जाँदा सङ्क्रमित हुनेहरूको संख्या तीब्र गतिमा बढ्दै गयो। बन्दीको अबधि बढ्ने तर परीक्षण र सेवा नबढ्ने भएपछि जनस्तरबाटै ब्यापक बिरोध हुन थाल्यो । बन्दी उल्लंघन हुने क्रम पनि बढ्न थालेपछि सरकारले ‘ मोडालिटी ‘ परिवर्तन गरेर खुकुलो बनायो।

बन्दाबन्दी बाध्यताको परिणाम हो । भाइरसका कारण उत्पन्न यो चुनौतिको सामना गर्ने प्रभावकारी उपाय भनेकै बन्दाबन्दी वा तालाबन्दी हो। वैश्विक समस्या बनेर आएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अधिकांश मुलुकले यसकै उपयोग गरे। त्यसैले हाम्रो लागि पनि यसको विकल्प थिएन । तर अरूहरूले यसको प्रभावकारी कार्यान्वयनमा गरेको विधि हामीकहाँ लागू गरिएन ,जसका कारण जनताले सास्ती खप्नु पर्यो । कोरोना सङ्क्रमणको फैलावट अनुमान गरेभन्दा धेरै बढी हुन पुग्यो । अन्य मुलुकमा सरकारले राहत प्रदान गरेर जनतालाई घरमै बसेर सुरक्षित रहन उत्प्रेरित गर्यो। वर्ग अनुसारको सुबिधा दियो, परीक्षण र उपचारमा सारा शक्ति प्रयोग गरेर जनतालाई अभिभावकत्व प्रदान गर्यो, सुरक्षाप्रति आश्वस्त तुल्यायो।

बिदेशमा रहेका लाखौँ नेपाली पनि यो महामारीबाट प्रभावित भए। छिमेकमा रहेका दुई लाखभन्दा बढी नेपाली अनेक कष्ट खपेर घर फर्किए। तिनलाई सुरक्षित ढङ्गले घर पुर्याउनु सरकारको जिम्मेवारी हो। त्यसका लागि सहज वातावरण, सेवा, स्वास्थ्य परीक्षण, परीक्षण अबधि पूरा नहुञ्जेल खानपान, सुरक्षित बास र सुबिधा पनि सरकारकै दायित्व हो । तर सरकारले न देशभित्र रहेका निम्नवर्गीय जनताको ख्याल गर्न सक्यो न त हातमुख जोर्नकै लागि बिदेशिएका र विपत्मा परेर फर्किएकाहरूको मन जित्न सक्यो। हुँदा हुँदा कैलालीको लम्कहीस्थित क्वारेन्टीनमा बसेकी एक महिलामाथि सुरक्षा गर्न बसेकाहरूले नै सामुहिक बलात्कार गरे। यद्यपि आरोपित सुरक्षाकर्मी होइनन् तर स्थानीय सरकारद्वारा खटाइएका हुनाले ब्यवस्थापन गर्ने वडा र पालिका विवादमा परेका छन्।

देश यतिबेला सङ्कटबाट गुज्रदैंछ। कोरोना एउटा प्राकृतिक सङ्कट हो भने भारतद्वारा भएको अतिक्रमणले सृजना गरेको अहंकारले जन्माएको अर्को सङ्कट। त्यसैगरी कोरोनाको नाममा भएको भनिएको अनियमितता र त्यसलाई ढाकछोप गर्न गरिएका प्रयत्नहरूले पनि सङ्कटलाई गहिर्याएको छ। यस्तो बिषम परिस्थितिमा सरकार प्रमुखले सबै विवादको उचित समाधान खोज्नु पर्छ । सङ्कटमा जनताको जीवन जोगाउँदै राष्ट्रको अस्मितामाथिको अतिक्रमण हटाउन र सम्प्रभुता रक्षा गर्न वाद अनि स्वार्थबाट माथि उठ्नु पर्छ। समयले उनलाई अबसर दिएको छ जसलाई सदुपयोग गर्न सके जीवन्त बन्न सक्नेछन्। त्यसो हुन आलोचना र आलोचकबाट तर्सिनु हुँदैन र राष्ट्रिय अस्मिता र अखण्डतालाई शिरमा राख्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here