(पार्थ मण्डल)
भद्रपुर, (झापा) । झापाको हल्दिबारी गाउँपालिकामा आर्थिकसँग जोडिएको सबै सरकारी सेवा ठप्प बनेको छ ।
गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन र उपाध्यक्ष डम्बर बहादुर गिरी बिचको लफडाले चालु आर्थिक वर्ष २०७७।७८ को साउन १ गतेदेखि नै आर्थिक सम्बन्धी सबै सेवा ठप्प बनेको हो । आर्थिकसँग जोडिएको सबै कारोबार ठप्प हुँदा हल्दिबारीका सेवाग्राही मारमा परेका छन् ।

चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम गाउँ सभाबाट पारित नहुँदा आर्थिकसँग जोडिएको गाउँपालिकाको सबै सेवा ठप्प बनेको गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले जानकारी दिए । अध्यक्ष र उपाध्यक्षको आआफ्नो अडानका कारण गाउँपालिकाको सेवा ठप्प भएको ४ नम्बर वडा अध्यक्ष होमप्रसाद चुडालले बताए । समस्या हटाएर तुरुन्त निकास दिन उनले अनुरोध गरेका छन् । हलो अड्काएर गोरु चुट्ने काम भइरहेकाले आ—आफ्ना कमजोरी सच्याएर अविलम्ब परिषद् बैठक सम्पन्न गर्नु पर्ने उनको भनाई छ ।
अझै भएन सहमति, दोस्रो बैठक पनि स्थगित
हल्दिबारी गाउँपालिकामा अध्यक्ष रवीन्द्र लिङदेन र उपाध्यक्ष डम्बरबहादुर गिरी बिच बल्झिएको विवाद ४७ दिन नाघ्यो । आर्थिक वर्ष ०७७। ८ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा अध्यक्ष लिङ्देन र उपाध्यक्ष गिरीको समूहबिच विवाद बढेको हो । गत असार १० गते बसेको सातौँ गाउँ सभाका क्रममा दुवै पक्षको आआफ्नो अडानका कारण विवाद बढ्दा बजेट, नीति तथा कार्यक्रम अझै पास भएको छैन । पहिलो बैठकमा सहमति नभएपछि ४७ दिनपछि गाउँपालिकाका अध्यक्ष लिङदेनले आज सोमबार दिनको १ बजे गाउँ सभाको दोस्रो बैठक बोलाएको थियो । तर, दोस्रो बैठकमा पनि स्थगित भएको छ । बैठकमा कोरम नपुगेपछि अध्यक्ष लिङ्देनले बैठक स्थगित भएको जानकारी गराएका थिए । बैठक बसेसँगै अध्यक्ष लिङदेनले सबै जनप्रतिनिधिहरूलाई माइन्यूटमा हस्ताक्षर गर्न लगाउँदा अध्यक्षसहित ७ जनाले मात्र उपस्थिति जनाएको थियो । उपाध्यक्ष गिरीसहित २२ जनाले उपस्थितिमा हस्ताक्षर नगर्दा बैठक विषय वस्तुमा प्रवेश नगरी स्थगित भएको हो । गाउँपालिका अध्यक्ष लिङदेनले पहिलो बैठकमा पेस भएको बजेट, नीति तथा कार्यक्रममाथिको दफावार छलफलबाट दोस्रो बैठक प्रारम्भ गर्ने गरी कार्यसूची बनाएका थिए । तर, अध्यक्षले राखेको कार्यसूचीलाई उपाध्यक्ष गिरीसहित नेकपा समर्थकका जनप्रतिनिधिहरू मानेनन् । निर्धारित समयभन्दा केही ढिलो गरी बैठक सुरु भएको थियो । बैठकमा पहिले उपस्थिति गराउने अनि बैठक प्रारम्भ हुने भनाइलाई उपाध्यक्ष गिरीसहितका जनप्रतिनिधि साथीहरू नमानेपछि बैठक सुचारु नभई स्थगित भएको अध्यक्ष लिङदेनले बताए । बैठकको कोरम नै नपुगी बैठक बस्नुको कुनै औचित्य नभएको बताउँदै उनले भने, ‘कानुन भन्दा बाहिर जाने अधिकार नभएकोले कानुनले जे भन्छ त्यही गर्नुपर्ने हुन्छ ।’ सहमतिका लागि हाम्रो तर्फबाट जति नै लचिलो बने पनि उहाँहरूको हठका कारण गाउँपालिकामा एक महिना यताबाट अनिर्णयको बन्दी भएको उनले बताए । आफूमाथि साङ्घातिक आक्रमण गरी बैठकबाट भगाएर उपाध्यक्ष गिरीले कानुनमा अध्यक्षले गर्न पाउने बजेट प्रमाणीकरणको अधिकार दुरूप्रयोग गरेकाले सच्याउनु पर्ने उनको माग छ । दोस्रो बैठक पनि सुरु नै नभई स्थगित भन्दै अध्यक्ष बैठक कक्षबाट बाहिरिएको उपाध्यक्ष गिरीले बताए । अध्यक्षकै कारण गाउँपालिकाका जनताले दुःख पाएको उनको आरोप छ । पहिलो बैठक जस्तै आफ्नो अध्यक्षतामा बैठक प्रारम्भ गर्नका निमित्त कानुनी कुरा अध्ययन गरिरहेको उपाध्यक्ष गिरीले बताए । अध्यक्ष नभएका बेला कानुनले उपाध्यक्षलाई अध्यक्षताको अधिकार दिएको प्रस्ट पार्दै बहुमतले गरेको निर्णय कसैको जिद्दीमा नउल्टने उनको तर्क छ ।































