भद्रपुर ।

भद्रपुर नाका खुलाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताले आइतबार बिहान भद्रपुर नगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । कोभिडका कारण बन्द गरिएको भद्रपुर नाका ११ महिना बित्न लाग्दा समेत खुलाउने विषयमा सरकार गम्भीर नदेखिएपछि नेपाली कांग्रेस ५ नम्बर वडा समितिले नगरपालिका घेराउ गर्दै चर्को नाराबाजी गरेको हो ।
कार्यकर्ताले सीमा नाका खुला गर, बेरोजगारलाई रोजगारी देऊ, लोकतन्त्र जिन्दाबाद लगायतका नारा लगाएका थिए । नाराबाजी पश्चात् कांग्रेस वडा समितिले तुरुन्त नाका खुलाउनुपर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । वडा समितिका सभापति रमेशचन्द्र झाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ– भद्रपुर नाका बन्द भएको कारणले यस क्षेत्रका बासिन्दालाई भारत जान काँकरभिट्टा नाका प्रयोग गर्न बाध्य पारिएको छ । सीमा नाकासँग जोडिएको यस क्षेत्रका कतिपय नागरिकलाई सीमा पारी आफन्त भेटघाटमा असहजता पुग्नुका साथै रोटी बेटीको सम्बन्ध भए पनि बिहाबारी र औषधि उपचार गराउन समेत समस्या उत्पन्न भइरहेको छ । कोरोना सङ्क्रमणका कारण लगाइएको लकडाउन महिनौँ पहिले सरकारले हटाइसकेको छ ।
सामाजिक भेटघाट मात्र नभई सम्मेलन गर्न समेत कुनै रोकटोक नरहेको तथा कोरोनाविरुद्धको भ्याक्सिन पनि लगाउन थालिसकेको अवस्थामा भद्रपुरसहित अन्य नाका बन्द राख्नु कुनै औचित्य देखिएन । त्यसैले दुवै देशका नागरिकको असहजतालाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मेची पुलबाटै आवतजावत सुचारु गराउन सरकार लगायत सम्बद्ध पक्ष समक्ष पार्टीले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको ज्ञापनपत्रमा उल्लेख छ ।
यता ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भद्रपुर नाका खुलाउने विषयमा सरकारलाई पहल गर्ने भनी नगर कार्यपालिका बैठकमा निर्णय भइसकेको बताए । सोही निर्णय बमोजिम नगरपालिकाले सरकारलाई पत्र पठाइसकेको र थप पहल गर्न मेयर जीवनकुमार श्रेष्ठलाई कांग्रेसले बुझाएको ज्ञापनपत्रको बारेमा जानकारी गराउने उनको भनाइ छ ।
सरकारले कोरोना भाइरसको महामारीपछि देशभरका नाका बन्द गराएको थियो । पछिल्लो समयमा कोरोना महामारी नियन्त्रण हुँदै गएपछि सरकारले ३० वटा नाका अतिआवश्यक र घरायसी प्रयोजनका लागि खुला गरेको छ । सरकारले झापाको काँकरभिट्टा र गौरीगञ्जको खजुरगाछी नाका खुला गरेको छ ।
मूल भन्सार रहेको जिल्लाकै दोस्रो ठूलो नाका भद्रपुर नखुलाएपछि यहाँ स्थानीय निराशसँगै आक्रोशित बनेका छन् । मेची पुल बन्द गरे पनि नदी तथा खेतबाट नियमित रुपमा दुवै देशका नागरिक सहज रुपमा आवतजावत गरिरहेका छन् ।






























