दुर्गाप्रसाद घर पुग्दा…

0
1755

विमल दहाल
इलाम ।

४१ वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार अपरान्ह ३ वजे आफ्नो घर इलाम माई नगरपालिका–१० लुम्वक आइपुगेका छन् ।

छोराको बाटो हेर्दै बसेकी ८५ वर्षीया आमा धनमायाले छोरा आउँदाको खुशीलाई सामान्य रुपमा लिन सकिनन् । उनले आँगनमै आएका आफ्ना छोरालाई देख्ने बित्तिकै साइँलो आइपुग्यो भन्दै छोरालाई स्वागत गर्न मिठाई लिएर पुगिन् । थकानमा रहेका दीपकले टाउको हल्लाएर खान मन छैन भन्ने प्रतिक्रिया दिए ।

तिम्सिना परिवारमा भएको खुशी परिबारमा मात्र सीमित रहेन, आफन्त, छरछिमेकका समेत भेला भई खुशी साटासाट गरे । दीपक अरुसँग खासै बोल्न चाहेनन् । लामो समयको जेल जीवन बसाइका कारण उनीमा शारीरिक र मानसिक पीडा रहेको सहजै अनुभव गर्न सकिन्थ्यो ।

दिदीको घरमा बास बसेर घर फर्किएको साइँलो कहाँ बिपत्मा पर्यो भन्ने लागीरह्यो– आमा धनमायाले भावुक मुद्रामा भनिन् । त्यो समयमा फोनफान र खोजखबर गर्ने माध्यम केही थिएन । साइँलो हराएपछि घरको व्यवहार नै बिग्रियो । पीडा र छट्पटिले सँधैै पिरोली रह्यो– उनले भनिन् । छिमेकी निर्मल सञ्जेल भन्छन्– हामीलाई उहाँ हुनुहुन्छ भन्ने कल्पना पनि थिएन । समाचार आएपछि मात्र थाहा पायांै ।

बिना सुनुवाइ ४१ वर्ष भारतीय जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) जेलमुक्त भएसँगै छोरो भेट्ने धनमायाको व्यग्र प्रतिक्षा अन्त्य भएको छ । अहिले उनको खुशीको सीमा नै छैन ।

धनमायाको जीवनमा धेरै बज्रपात र दुःखका दिन आइरहे । दुर्घटनामा परी आमा धनमायाको दाहिने हात काटेर फाल्नु परेको थियो । श्रवण क्षमता पनि कम भएको छ तर जीवन संघर्षमा आज एकपल्ट खुशीको दिन फर्र्किएको छ– उनलाई । इलामको एकतप्पा बसोबास गरेको तिम्सिना परिवार पछि माई नगरपालिकाको चिसापानी आएका थिए ।

दीपक प्रायः सबैको सम्झनाबाट हट्दै गएको भए पनि आमा धनमाया भने दशधारा दूध खुवाएर हुर्काएको छोराको सम्झना गर्दै आँशु बगाउने गरेको दीपकका भाइ धर्मानन्दले बताए । दाजु घरमा आएकोमा म पनि आम जत्तिकै खुशी छु– उनले भने ।

२०३७ सालमा मंगलबारे बजारबाट बेपत्ता भएका १९ बर्षीय दुर्गाप्रसाद अहिले माई नगरपालिकामा रहेको आमा बसेको घरमा आइपुग्दा बिगतमा उनलाई चिन्न र देख्ने परिबारका सदस्य बाहेक कमै थिए । ‘जान चाहिँ ऊ नजिकैको मंगलबारे बजार गएको थियो तोरी बेच्नलाई । त्यो दिन ऊ दिदीको घरमा बास बसेको थियो । त्यसपछि ऊ घर जाने भनेर हिँडेको थियो तर फर्किएन, सबै आफन्त र चिनेजानेका खबर गरेका हौं, पत्तो लागेको थिएन्’– धनमायाले भनिन्– अचम्म भो ! साइँलो भेटियो, आज त आइ नै पुग्यो ।’

खेती किसानीमा जीवनयापन गरिरहेको तिम्सिना परिवारमा साइँला छोरा घरायसी कामका लागि मेरुदण्ड नै थिए– आमा धनमाया भन्छिन्– ‘साइँलो हराएपछि घरको काम गर्ने दाहिने हात नै भाँचिएझैं भयो, त्योभन्दा पनि कतै अप्रिय घट्ना पो भयो कि भन्ने पीडा भइरह्यो ।’

४१ वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका तिम्सिना काँकरभिट्टा हुँदै घर भित्रिएपछि घरपरिवार र गाउँघरमा खुशियाली छाएको छ । बुवा चम्पाखर र माइलो दाइ केदारको यसअघि नै देहान्त भइसकेको छ ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्ण र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो । २०३७ सालमा दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जीलिङ पुगेका थिए । दार्जीलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आएन ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए । दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पु¥याएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको छ ।

दार्जीलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर, उनमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पु¥याइएको पाइएको छ ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए ।
४१ वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो छुटेका हुन् । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए– ‘म निर्दोष थिएँ ।’

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार घर आइपुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here