सामुहिक सब्जी खेतीमा रोङका महिला

0
1091

युद्धबहादुर बोहोरा,
इलाम।

झापा जिल्लासँग जोडिएको रोङ गाउँपालिका वडा नम्बर २ बर्खोल्याङमा सञ्चालित छ्हारी महिला कृषि समूहका महिला सामुहिक सब्जी खेतीमा लागेका छन् ।

समूहकी अध्यक्ष रमादेवी कोइरालाले खेतीका लागि तीन रोपनी जग्गा उपलब्ध गराएपछि समूहका महिलाले उक्त जमिनमा आलु, प्याज, टमाटर, अकबरे खोर्सानी, च्याउ लगायतका बेमौसमी सब्जी उत्पादन गरेर बिक्री गर्न शुरु गरेका छन् ।

सब्जी खेती गर्न पालिकाबाट बीऊबिजन र बेर्ना उपलब्ध र प्राविधिक सहयोग गर्दै आएको सोही वडाकी महिला सदस्य टीका तिवारीले जानकारी दिइन् । अध्यक्ष कोइरालाले वडा नम्बर २ को कार्यालय भवन निर्माण गर्न दुई रोपनी निःशुल्क जग्गा समेत प्रदान गरेको उनले बताइन् ।

२०६८ सालमा स्थापना भएको यस समूहमा करिब ८० जना सदस्य रहेका छन् । विगत वर्षमा समूहको टोली कृषि सम्बन्धी अवलोकनको लागि चितवन लगायतका क्षेत्रमा भ्रमण गरेर फर्किएपछि समूहले सब्जी खेती तथा सुपारीका बेर्ना समेत उत्पादन गर्न शुरु गरेको हो ।

अन्य ठाउँमा गरेको खेती देखेर आएपछि आफ्नै ठाउँमा पनि व्यवसायिक खेती शुरु गरेर जिल्लाको नमूना तथा एक उदाहरणीय महिला कृषि समूह बन्नेतर्फ अग्रसर रहेको समूहका सदस्य तथा जनप्रतिनिधि तिवारीको भनाइ छ ।

गत वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सिँचाइ पाइप खरिद गरिएको भएता पनि अझै खेती गरिरहेको जमिनमा सिँचाइको सुविधा पर्याप्त पुगेको छैन । प्रभावकारी सिँचाइ सुविधाको लागि सम्बन्धित निकायमा पहल गर्दै गरेको उनले बताइन् ।

लगनशील र उद्यमी महिला समूहलाई सरोकारवाला निकायले अझै हौसला र सहयोग गर्न हो भने व्यावसायिक खेती गर्न तर्फ सबै अग्रसर हुँदै स्वरोजगार बन्ने सक्ने स्थानीयहरु बताउँछन् । यस समूहको लेखा प्रतिवेदन अनुसार सम्पूर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्वसहित अहिलेसम्मको वासलात १८ लाख रहेको बताइएको छ ।

उक्त समूहलाई पालिकाबाट गत वर्ष ६० हजार रुपैयाँ बराबरको कुर्सी उपलब्ध गराएको छ भने महिला जागरणले दराज र टेबुल प्रदान गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here