सूर्य नमस्कार किन गर्ने ?

0
1307

सूर्य नमस्कारको शाब्दिक अर्थ सूर्यको अर्पण वा नमस्कार गर्नु हो । युवादेखि वृद्धवृद्धासम्म लोकप्रिय छ यो व्यायाम शरीरलाई फिट राख्न अति उपयोगी मानिएको छ । यसमा सम्पूर्ण शरीरको व्यायाम हुन्छ । यसमा १२ वटा आसन हुन्छन् । शरीरलाई ऊर्जावान बनाई राख्न मद्दत गर्छ । दायाँ खुट्टाबाट छ राउण्ड र बायाँ खुट्टाबाट छ राउण्ड पूरा गरेपछि एक चक्र पूरा हुन्छ । यसरी नै १२ पटक गरिन्छ । शुरुवाती दिनहरुमा थोर–थोरै गर्न सकिन्छ । नमस्कार योगको आसन हो । यसलाई आफैंमा पूर्ण व्यायामको रूपमा लिइन्छ । सूर्य नमस्कारको निरन्तर अभ्यासबाट मानसिक र शारीरिक रूपमा शान्त, पवित्र र स्वच्छ रहन धेरै नै सहयोग पुग्छ । यसलाई मानिसहरूले आफ्नो शारीरिक र मानसिक अवस्थालाई महशुस गरी सजगता साथ गर्नुपर्छ ।

यो त्यस्तो आसन हो । जसलाई बालक, जवान र वृद्धवृद्धा सबैले गर्न सक्छन् । हामी स्वस्थ शरीर चाहिरहेका हुन्छौं । निरोगी बन्न हदसम्म प्रयास गरिरहेका हुन्छौं । मानिसको व्यस्त जीवन भएकोले शरीरलाई खासै ध्यान दिएका हुँदैनौं । जसको कारण उच्च रक्तचाप प्रेसर सुगर जस्ता रोगले ग्रसित भएका छौं । शारीरिक तथा मानसिक स्वास्थका लागि योग आसन गरेर आध्यात्मिक रूपमा स्वस्थ रहन सकिन्छ । यी तीनवटै तवरको लागि सूर्य नमस्कार यो उपयोगी मानिएको छ ।

आसनहरुको एउटा प्याकेज पनि हो भन्न सकिन्छ । अहिलेको समयमा स्वस्थ जीवनशैली अपनाउन जरुरी पनि छ र आजको आवश्यकता पनि हो । योग आसनप्रति युवा–युवतीहरु बढी आकर्षित भएको देखिन्छ । शरीरलाई फिट राखेर शरीरलाई ऊर्जावान बनाइरहन्छ । हाम्रो शरीरको मेरुदण्ड बलियो बनाउँछ । कोष–कोषमा रक्तसञ्चारमा हुन्छ । शरीरको सबै भागमा मस्तिष्कसम्म अक्सिजन फैलिन्छ । जसको कारण चुस्त दुरुस्त पÞmुर्तिलो ऊर्जाशील बनाएको हो । यसको निरन्तर अभ्यासले फूलको थुगों जस्तो हल्का बनाउँछ शरीरलाई । शरीर र मनलाई शान्त बनाएर मानसिक पीडा पनि कम हुन्छ । अनुहारमा चमक ल्याउँछ र सौन्दर्य बढाउँछ । पेटबाट उत्पन्न हुने रोगहरु पनि ठीक हुँदै जान्छन् । सूर्य नमस्कारले तन, मन र वाणी, सबैमा शक्ति र ऊर्जा मिल्छ । साथै यसले शरीरको सबै अंगलाई क्रियाशील बनाउँछ । त्यसो त शरीरलाई ऊर्जावान बनाउने मात्र होइन, रोगमुक्त पनि गराउँछ ।

सूर्य नमस्कार १२ शक्तिशाली योग आसनको एक समन्वय हो, जो एक उत्तम कार्डियो भास्कुलर व्यायाम पनि हो । अर्को महत्वपूर्ण कुरा त के भने यदि हामीसँग व्यायाम गर्ने पर्याप्त समय छैन भने सूर्य नमस्कार उत्तम विकल्प हो । सूर्य नमस्कारबाट शरीरलाई फुर्तिलो, लचिलो र ऊर्जावान बनाउन सकिन्छ । जुनसुकै अवस्थामा गर्न नमिल्ने भएकाले जस्तो महिनावारी भएको बेला, उच्च रक्तचाप भएको बिरामी, शरीरमा हड्डी खिइएको बेला झुकेर गर्न नमिल्ने भएकाले यस्तो बेलामा विज्ञहरुको सल्लाह लिएर गर्नुपर्छ । सूर्य नमस्कार बिहानको समयमा खाली पेटमा गर्दा फाइदा हुन्छ । सूर्य नमस्कार छिटो–छिटो गर्नुहुँदैन । प्रत्येक आसन आरामले गर्नुपर्छ । सजग भएर आनन्द लिँदै गर्नुपर्छ । सूर्य नमस्कार १२ वटा आसनलाई नियालौं :

१. प्रणाम आसन : आफ्नो आसन(म्याट)मा सिधा उभिने दुबै खुट्टालाई आपसमा जोड्ने । छाती फुलाउने र काँधलाई लचिलो राख्ने । श्वास लिँदै दुबै हात सिधा माथि उठाउने र श्वास छाड्दै हातलाई जोडेर प्रणाम मुद्रामा आउने ।

२. हस्तउत्तानासन : श्वास लिँदै हातलाई माथि उठाउने र क्रमस पछाडि लाने ।

३. हस्तपाद आसन : श्वास छाड्दै मेरुदण्डलाई सिधा राखेर कम्मरअघि झुकाउने । पुरै श्वास छाड्दै हातको पन्जा जमिनमा राख्ने र शीरले घुँडामा स्पर्श गर्ने ।

४. अश्व सञ्चालन आसन : श्वास लिँदै जति सम्भव हुन्छ, दाहिने खुट्टा पछि लाने । दाहिने घुँडालाई जमिनमा राख्न सकिन्छ, शीरलाई माथि उठाउने । बायाँ खुट्टा दुबै हातसँग समान्तर मिल्नेगरी राख्नुपर्छ ।

५. दन्डासन : श्वास लिँदै बायाँ खुट्टालाई पछि लाने र सम्पूर्ण शरीर सिधा रेखामा राख्ने ।

६. अष्टाड्ड नमस्कार : आरामसाथ दुबै घुँडालाई जमिनमा लाने र श्वास छाड्ने । पिठ्युँलाई माथि उठाउने । छाती र चिउँडोले जमिनमा छुने ।

७. भुजंग आसन : अब छातीलाई माथि उठाउने । कुहिनालाई मोड्न सकिन्छ । श्वास लिँदै छातीलाई अगाडि धकेल्न सौम्य प्रयास गरौं । श्वास छाड्दै नाभीलाई सहजरुपले भित्र दबाउने ।

८. पर्वत आसन : श्वास छाड्दै मेरुदण्डको हड्डीको भाग माथि उठाउने । छातीलाई तल झुकाउने र अंग्रेजी वर्णमालाको उल्टो ‘भि’ पोजिसनमा रहने ।

९. अश्वसञ्चालन आसन : श्वास लिँदै दाहिने खुट्टालाई दुबै हातको बीचमा ल्याउने । बायाँ घुँडा जमिनमा राख्न सकिन्छ । दृष्टि माथि गर्ने ।

१०. हस्तपाद आसन : श्वास छाड्दै बायाँ खुट्टालाई अगाडि ल्याउने । हातलाई जमिनमा राख्ने र शीरले घुँडालाई छुने प्रयास गर्ने ।

११. हस्तउत्थान आसन : श्वास लिँदै मेरुदण्डको हड्डी विस्तारै–विस्तारै माथि लाने । हातलाई माथि उठाउने र विस्तारै पछि लाने । पुनः हातलाई अगाडि ल्याउने र शुरुको अवस्थामा रहने ।

१२. ताडासन : श्वास छाड्दै शरीरलाई सिधा पोजिसनमा राख्ने । हातलाई तल राख्ने । सूर्य नमस्कार गरेपछि १०/१५ मिनेट सवाआसानमा विश्राम गर्ने र एकछिन दायाँ कोल्टे फेर्ने र बिस्तारै उठ्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here