सचेतना कार्यक्रम तथा मापदण्ड निर्धारण

0
911

युवराज रेग्मी,
झापा।

देशभर कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिँदै गर्दा छिमेकी मुलुक भारतमा पनि दैनिक रुपमा लाखौंको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित फेला पर्दै आएका छन् ।

सिमाना भारतसँग जोडिएको नेपालको पूर्वी जिल्ला झापाको दक्षिण पश्चिम पालिका गौरीगञ्जका सीमानाकाहरुबाट निर्वादरुपमा मानिसहरुको आवतजावत हँुदै आएको भन्ने समाचार पूर्वाञ्चल दैनिकमा स्थानीयहरुको गुनासोसहितको समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशनपश्चात मंगलबार गाउँपालिकाले सीसीएमसीको बैठक डाकी स्थानीयको गुनासोलाई सम्बोधन गर्दै कोरोना प्रभावबारे छलफल गरेको थियो ।

गाउँपालिकास्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट एण्ड कन्ट्रोल (सीसीएमसी)को बैठकले भारतसँग सीमाना जोडिएका गौरीगञ्जका सम्पूर्ण नाकाहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सीसीएमसीका संयोजक तथा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ को अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणबाट जोगाउन बिभिन्न सचेतनामूलक विज्ञापन तथा जानकारीमूलक माइकिङ् गर्ने, पालिकाभित्र रहेका सबै कार्यालयहरुमा स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न निर्देशन दिने, पालिकाभित्र रहेका सम्पूर्ण बिद्यालयहरुमा स्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गराउन लगाउने लगायतका निर्णयहरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी पालिकाभित्र साप्ताहिकरुपमा लाग्ने हाटबजारहरुबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाटबजारहरुमा सामाजिक दूरी पालना गर्न लगाई सबै व्यापार–व्यवसायहरु तथा पसलहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्न लगाउने निर्णय गरेको छ ।

त्यसैगरी होटल रेष्टुरेण्ट लगायतका सबै व्यवसायहरु राति ८ः०० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको छ । यसका साथै बैठकले सीमा क्षेत्रमा रहेका अस्थायी सुरक्षा पोष्टहरुको व्यवस्थापन समेत गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here