काठमाडौं।

नेकपा एमालेको एकताका लागि अनौपचारिक वार्तालाई निरन्तरता दिइरहेका दुवै पक्षका नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन् ।
केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेता नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् । यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकामा आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन गएका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले घोषणा गरिसकेका छन् ।
एमाले बैठकले माधव नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट वार्ताकार नेताहरुले नेपाललाई भेटेका हुन् ।
शनिबार ओली र नेपालबीच फोन संवाद भएको थियो । दुवै नेताबीचको फोन संवादमा कुनै सहमति बन्न सकेको थिएन । ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने नेपालले पार्टी एकतासँग हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै फिर्ता नलिने अडान लिएका थिए ।
यसअघि शुक्रबार पनि दुवै नेताबीच फोन संवाद भएको थियो । त्यसमा ओलीले केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका थिए भने नेपालले केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गरेका थिए ।
त्यसयता दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुट्दै आएका छन् । तर, कुनै सहमति बन्न सकेको छैन । त्यसैले दुवै शीर्ष नेताबीच भेटवार्ता गराएर सहमति खोज्ने प्रयास गरिएको कोटेश्वरमा रहेका अर्का नेताले बताए ।
एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिको दबाब
नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दबाब दिएका छन् । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् ।
‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर–१० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिए । महर्जन चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–११ का वडाध्यक्ष समेत हुन् ।
‘यो दबाबले नेकपा एमाले टुटफुट नभई एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास लिएका छौं’ उनले भने । चन्द्रागिरि काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । चन्द्रागिरिमा स्थानीय तहको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।






























