चुनौति अवसर हुनुपर्छ

३१ असार २०७८, बिहीबार मा प्रकाशित
  • 514
  •  
  •  
  •  
  •  
  •  
    514
    Shares

अत्यन्त जटिल परिस्थितिमा शेरबहादुर देउवा प्रधानमन्त्री हुन पुगेका छन् । एकातिर विगत लामो समयदेखि महामारी कै रूपमा विद्यमान कोरोनाजन्य कहर स्वरूप परिवर्तन गर्दै ‘झन् झरिलो झन् खिरिलो’ भएर रहेको छ भने अर्कातिर वर्षाजन्य कहरले आक्रान्त बनाएको छ यो समय । सबैलाई खोपको सुनिश्चतताले कोरोना कहरको चिन्ता र बाढीपहिरो पीडितको सुरक्षाको प्रत्याभूतिले मात्रै उल्लेखित चुनौतिको सामना गर्न सकिन्छ । नेकपा एमाले नेतृत्वको सरकारले गरेको संसद विघटन लगायतका निर्णयहरूले संविधानको भावनामा चोट पु¥याएको भन्दै एमालेकै सांसद तथा विपक्षीहरूले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले दाबीको पक्षमा फैसला गरेपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अपदस्थ भयो । सर्वोच्चको फैसलाले संविधानको रक्षक भनिने राष्ट्रप्रमुख पनि विवादको घेरामा परिन् भने उनको निष्पक्ष र तटस्थ भूमिका प्रति पनि संशय जन्माइदिएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाका लागि चुनौतिसँगै अवसर पनि छ । नेपाली कांग्रेसको गणितीय उपस्थिति कमजोर भएको बेला आइलागेको नेतृत्व यसकारण पनि अवसर हो कि उनको कुशलताले प्राप्त उपलब्धिहरूलाई पनि संस्थागत गर्न सकिन्छ । यही समय कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उनको काँधमा छ । एकलौटी सरकार निर्माण गरेका केपी ओलीले आफ्नै दलभित्रको असमझदारीलाई व्यवस्थापन गर्न नसक्दा अपदस्थ हुनु प¥यो भने पाँच वटा दलका बीच सहमति र सहकार्य गरेर सरकार टिकाउनु प्रधानमन्त्री देउवालाई मुख्य चुनौति छ । अन्तरदल सन्तुलन कायम राखेर सबै चुनौतिहरूको सामना गर्दै निष्पक्ष निर्वाचनबाट सत्ता हस्तान्तरण गर्ने संवैधानिक दायित्व पूरा हुन सक्यो भने इतिहासले उनलाई सम्झिने छ । यसका लागि उनमा आँट, निष्ठा, लगन, धैर्य र इमानदार निरन्तरता हुनुपर्छ ।

सर्वोच्च अदालतले दिएको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुको विकल्प थिएन । त्यसैले देउवा प्रधानमन्त्री नियुक्त भए । तर, नियुक्तिको भाषामा संविधानको धारा उल्लेख नगरेर उनको तटस्थ भूमिकामाथि आशङ्का जन्माएको छ । संवैधानिक प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेका कारण निर्धारित समयभन्दा अढाई घण्टा ढिलो शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । पहिलो गाँसमै ढुङ्गा लागेका प्रधानमन्त्री देउवाका अघि विपक्षीको प्रतिरोध मुख्य चुनौति रहेको छ भने असरल्ल अव्यवस्थालाई विधिको लिगमा हिँडाउनु पनि त्यत्तिकै जरूरी छ । संविधान विपरीत गरिएका नियुक्ति, मूल्यवृद्धि, कोरोनाजन्य कहर, प्राकृतिक विपत्ति र थला परेको अर्थ व्यवस्था जस्ता चुनौतिको सामना गरेर इतिहास निर्माण गर्न सुझबुझपूर्ण, उदार, सहिष्णु र दृढसङ्कल्पित इच्छा उनका लागि अवसर हुनसक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here