एसएलसी परीक्षा २०७० र परीक्षाफलको समीक्षा

५ असार २०७१, बिहीबार मा प्रकाशित
  •    गौरव पोखरेल

परीक्षार्थी र परीक्षक बिचको द्वन्दको रुपमा लिइने परीक्षा विद्यार्थीहरुको निमित्त आफ्नो क्षमता अथवा भनौं दक्षताको मापन गर्ने एक दरिलो माध्यम पनि हो । त्यसमा पनि प्रवेशिका अर्थात एसएलसी परीक्षालाई विद्यार्थीहरुले फलामे ढोकाको रुपमा विशेष महत्वका साथ हेर्ने गर्दछन् । जस अनुसार यस वर्षको प्रवेशिका परीक्षाको नतिजा गत असार ६ गते शुक्रबार अपराह्न परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट सार्वजनिक भएको छ । नेपाली समाजका लाखौं विद्यार्थीहरुको करिब १० ÷ १२ वर्ष लामो प्रतिक्षा, मेहनत र परिश्रमको फल (एसएलसीको नतिजा) प्रकाशन भएसँगै कतिपय विद्यार्थीहरुको मनमा निराशावादी सोचले पदार्पण ग¥यो भने कतिपय विद्यार्थीहरुको मनमा हर्ष, उमङ्ग, जोश र जाँगरको विजारोपण गराइदियो । समष्टिगत रुपमा भन्दा सिङ्गो नेपालको एसएलसी परीक्षाको नजिता हेर्दा चाहीँ आम नेपाली जनमानसको मानसिकतामा नकारात्मक सोचरुपी विचारहरु उर्लिएर आए । विगत ५ वर्ष यताको प्रवेशिका परिक्षाको नजिता हेर्दा नतिजा उन्नति तर्फ उन्मुख हुनु पर्नेमा विपरित रुपमा नतिजा क्रमशः खस्कदोँ अवस्थामा गई रहेको भान हुन्छ ।
वि.सं. २०६५ सालको प्रवेशिका परीक्षामा ६८.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०६६, २०६७, २०६८ र २०६९ मा भने क्रमशः ६४.३१, ५५.५, ४७.१६ र ४१.५७ प्रतिशत विद्यार्थी पास भएका थिए । तर अहिले भने  ४३.९२ प्रतिशत विद्यार्थी विभिन्न श्रेणीमा पास भएका छन् । विगतका प्रतिशतहरुसँग तुलानात्मक दृष्टिले हेर्दा यस वर्षको नजिता २.३५ प्रतिशतले बृद्धि भएको हो । तर पनि यस नतिजालाई सन्तोषजनक मान्न सकिदैँन । नेपाली विद्यार्थीहरुको गिर्दो शैक्षिक अवस्थालाई के भन्ने त अब ? आज यो विषय सोचनीय भएको छ । नेपाली भू–भागका विद्यार्थीहरुको शैक्षिक अवस्था फेल भएको हो कि नेपाली शिक्षा जगतको शैक्षिक प्रणाली ? यो विषय पनि चिन्तनको लागि एक शीर्षक बनेको छ भन्दा अतियुक्ति नहोला ।
यस वर्षको यानिकी २०७० सालको प्रवेशिका परीक्षा अर्थात एसएलसी परीक्षामा  नियमित तर्फ कुल ३ लाख ९४ हजार ९ सय ३३ जनाले परीक्षा दिएकोमा १८ हजार १ सय १० जना विशिष्ट, ८३ हजार ६ सय ३० जना प्रथम, ६७ हजार ९ सय ४२ जना द्वितीय तथा ३ हजार ७ सय ४७ जना तृतीय श्रेणीमा गरी कुल १ लाख ७३ हजार ४ सय ३६ जना विद्यार्थीहरुले यस वर्षको फलामे ढोका तोडेका छन् । वि.सं. १९९० बाट सुरु भएको नेपालमा नै एसएलसी दिने व्यवस्थाले आज ८० वर्ष पूरा गरी सक्दा नेपालले कयौं दक्ष जनशक्तिहरु  उत्पादन गरी सकेको छ । तर विडम्बना ती दक्ष जनशक्तिहरुले स्वदेशमा नै रोजगारको अवसर पाउन नसक्दा उनीहरु वैदेशिक रोजगारको जञ्जिरमा बाँधिन बाध्य भएका छन् । उनीहरु शैक्षिक योग्यताको प्रणाम पत्र बोकेर जति नै भौतारिए पनि समुचित अवसर नपाउँदा आफ्नो मातृभूमि प्रतिको अगाध प्रेम, माया र कोमल स्नेहलाई छाडेर समुद्र पारीको विभिन्न देशहरुमा गुलाम बन्न विदेशिने क्रम निकै बढ्दो छ । यस विषयलाई पनि मध्यनजर गर्दै सम्बन्धित निकाय, सरकार तथा अन्य सरोकारवालाहरुले अब विद्यार्थीहरुलाई किताबी शिक्षामा मात्र सिमित नगराई व्यवहारिक शिक्षा दिन पनि जरुरत् देखिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले गत वर्ष चैत्र ६ गतेबाट सञ्चालन गरेको एसएलसी परीक्षामा पास हुने विद्यार्थीहरुको प्रतिशतमा बढोत्तरी भएको समाचारहरु सञ्चार माध्यममा आएतापनि अघिल्लो वर्षको एसएलसीमा सहभागी परिक्षार्थीहरुको संख्या भने ९ हजारले कम रहेको पाइन्छ । यसरी संख्यात्मक रुपले हेर्दा पनि यस वर्ष प्रवेशिका परीक्षाका परिक्षार्थीहरुको नतिजामा ह्रास आएकै हो । यस वर्षको एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीहरुको संख्यामा बृद्धि गर्न दुई विषयमा ५ नम्बर ग्रेस दिइएको थियो । जुस ग्रेस अङ्क थपेर भने यस वर्ष ४४ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यसरी ग्रेस अङ्क पाए पछि उत्तीर्ण हुने विद्यार्थीहरुको सङ्ख्या १५ हजार ७४ रहेको छ । अब यस वर्षको प्रवेशिका परीक्षाको पुरक परीक्षा भने आगामी साउन २० गतेबाट सञ्चालन गरिने निर्णय भएको छ । यसका साथै यस वर्षको प्रवेशिका परीक्षामा मर्यादामा आँच आउने किसिमका नियम विपरित रुपले कार्य गर्ने ८८३ विद्यार्थीहरुको भने परीक्षा रद्द भएको थियो । यस पटकको परीक्षामा धेरै जसो सरकारी विद्यालयका विद्यार्थीहरु अनुत्तीर्ण रहेको परीक्षा फल प्रकाशन भएको छ । यसरी परीक्षामा सामेल धेरै विद्यार्थीहरु भने विशेषतः विज्ञान, गणित र अंग्रेजी विषयमा अड्किएका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेको भनाई रहेको छ ।
यता एक्जाम्टेड तर्फको नतिजामा भने ५ सय ९१ विद्यार्थीहरु मात्र उत्तीर्ण भएका छन् । यो उत्तीर्ण सङ्ख्या परीक्षामा सहभागी १ लाख ३३ हजार ६ सय २६ विद्यार्थीहरु मध्येबाट १०.९२ प्रतिशत मात्र हो । यसरी हालै प्रकाशन भएको प्रवेशिका परीक्षाको न्यून नतिजाले नेपाली शिक्षा पद्धतीमा सिधै चुनौती दिएको छ । विगतको प्रवेशिका परीक्षाहरुको परीक्षार्थी उत्तीर्ण दर भन्दा यस वर्षको प्रतिशत केही मात्रामा भए पनि दह्रो रहेको छ । तर यो नजिता नेपाली शिक्षा क्षेत्रको लागि नितान्त न्यून हो भन्ने यो पंक्तिकारको ठम्याइ छ ।
नेपाल सरकारको स्वामित्वमा सञ्चालित सरकारी विद्यालयहरुको अवस्था त झनै विषम रहेको पाइएको छ । विशेषतः सरकारी विद्यालयहरुका विद्यार्थी असफल भएको नतिजा आएको छ । यस नतिजाले सरकारी विद्यालयका व्यवस्थापन समिति, शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरुलाई समेत एक पटक सोच्न बाध्य बनाएको छ । यहाँका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न विभिन्न कदमहरु आजैबाट नचाले भविष्यमा परिस्थिति अझ विकराल हुने कुरामा दुई मतै छैन । तसर्थ नेपालका सरकारी विद्यालयका शिक्षक, विद्यार्थी एवम् आम सरोकारवाला निकायहरुले सरकारी विद्यालयहरुको शैक्षिक क्षेत्रमा सुदृढिकरण गर्न बृहत छलफल, शिक्षा क्षेत्रमा सरकारी तथा गैर सरकारी तवरबाट गरिएका लगानीको उचित सदुपयोग गर्दै विभिन्न किसिमका कदमहरु चाल्नै पर्ने अवस्था रहेको कुरामा कुनै सन्ध्येय नै छैन ।
नेपाल सरकारले “सबैका लागि शिक्षा” भन्ने उद्घोषका साथ नेपालको शैक्षिक पाटोमा सुदृढिकरण गर्न ठोस कदमहरु चाल्दै साक्षरता अभियान चलाएको छ । नेपाली भू–भागमा स्थापित संस्थागत विद्यालयहरुले जान्ने तथा धनी परिवारका विद्यार्थीहरु सबै पढाउने गरेका छन् तर सरकारको स्वामित्वमा सञ्चालित सरकारी विद्यालयहरुले नेपाल सरकारको सबैका लागि शिक्षा भन्ने उद्घोषलाई सार्थकता दिन सडक बालबालिकाहरुलाई समेत समेट्दै लानु पर्ने बाध्यताले गर्दा सरकारी विद्यायलका विद्यार्थीहरुको नजिता न्यूत आएको कुराको समेत आम जनमानसहरुले मनन गरेका छन् ।  सन् २०१५ सम्ममा शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन साक्षरता अभियान चलाइएको भएतापनि अहिले सम्म प्रवेशिका परीक्षाको नतिजा न्यून आउनाले आम नेपाली जनमानसले यस कार्यक्रम बारेमा पनि अनेक तर्कहरु सम्प्रेषण गर्न थालिसकेका छन् । नेपाल भरी कुल ८३६ परीक्षा केन्द्र राखिएको उक्त प्रवेशिका अर्थात एसएलसी परीक्षामा ५ हजार ५ सय ३१ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिएनन् भने १ हजार ३ सय ९ जनाको परीक्षा फल रद्द भएको थियो ।
नेपालको सिङ्गो नतिजा खस्की रहेको अवस्थामा यता झापाको नतिजा भने केही हदसम्म सुदृढ रहेको छ । गत चैत्र ६ गते सम्पन्न एसएलसी परीक्षामा झापाबाट कुल १६ हजार २ सय ४१ जना विद्यार्थी सामेल भएका थिए भने नियमित तथा एक्जाम्टेड दुबैमा गरी झापाका ६ हजार २ सय ८६ जना विद्यार्थीहरु उत्तीर्ण भएको परीक्षा फल प्रकाशन भएको छ ।  गत वर्षको प्रवेशिका परीक्षामा कुल ४९ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका भएतापनि हाल भने ५१.३९ विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यसरी विगत वर्षको तुलनामा झापाको नतिजा चाहीँ केही हदसम्म भए पनि सन्तोषजनक रहेको पाइयो । झापामा नियमिततर्फ एसएलसीमा सहभागी विद्यार्थीहरु मध्ये ३ सय ९० जनाले विशिष्ट श्रेणीमा उत्तीर्ण गरे भने ३ हजार २ सय १७ जनाले प्रथम, २ हजार ५ सय १६ जनाले द्वितीय एवम् १ सय ६३ विद्यार्थीहरुले तृतीय श्रेणीमा पास गरे । यता एक्जाम्टेड तर्फ  भने ४ हजार ८ जना विद्यार्थीहरु मध्ये ५ सय ८ जना विद्यार्थीहरु उत्तीर्ण भएको नतिजा रहेको छ ।
यसरी यस वर्षको प्रवेशिका परीक्षाको नतिजा प्रकाशन कार्य पनि सम्पन्न भएको छ । विद्यालयमा लिइने शिक्षाको अन्तिम खुड्किलोको रुपमा हेरिने यस एसएलसी परीक्षाको नतिजाले ५६.०८ प्रतिशत विद्यार्थीहरुको मानसिकतामा नौरास्यता भित्र्याइदिएको छ । फलामे ढोकाको रुपमा विद्यार्थी जमातका माझ सुपरिचित यस प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक हुने समय गत अघिल्लो साताको शुक्रबार पाँच बजे तोकिएको समाचार सञ्चार माध्यममा सम्प्रेषण, प्रकाशन तथा प्रशारण भई रहँदा आम विद्यार्थीहरु माझ भने परीक्षाफलको विषयले निकै त्रसित बनाएको पाउन सकिन्थ्यो । परीक्षाफल प्रकाशन हुने भनिएको त्यस दिन बेलुकी स्थानीय साइबरहरु एसएलसीको परीक्षाफल हेर्न आउने विद्यार्थीहरुको  ताँतीले भरिपूर्ण भएको थियो । अन्ततः परीक्षाफलको प्रकाशन पश्चात धेरै विद्यार्थीहरुको मनमा नकारात्मक तरङ्ग पैदा गरायो ।
तर  प्रवेशिका परीक्षामा अनुत्तीर्ण भइयो भन्दै सबै थोकको नै इतिश्री भएको जस्तो गरेर बस्नु मूर्खता शिवाय अरु केही पनि हुन सक्दैन । तसर्थ यस वर्षको प्रवेशिका परीक्षामा पास हुन सफल सबैलाई आगामी दिनहरुमा पनि यस्तै  सफलताको शुभकामना एवम् यस वर्ष अनुत्तीर्ण हुने विद्यार्थीहरुलाई आगामी दिनमा कडा, परिश्रम र मेहनत गरेर सफलताको शिखर चुम्न सक्नु होस् – यही शुभकामना यो बाल पक्तिंकार यहाँहरु माझ टक्रयाउन चाहन्छ ।
सुरुङ्गा, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here