न्यू होप र आदर्श सेमिफाइनलमा

१२ असार २०७१, बिहीबार मा प्रकाशित

बिर्तामोड, असार १२ । खुदुनाबारीको न्यू होप अङ्ग्रेजी मावि झापाको डोमालाल रङ्गशालामा जारी कोका कोला अन्तरमावि फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा स्पर्धी बिर्तामोडको कनकाई अङ्ग्रेजी माविलाई ३–० गोल अन्तरमा पराजित गर्दै न्यू होप सेमिफाइनलमा प्रवेश गरेको हो । उसका लागि समित समाल मगरले ह्याट्रिक गरेका हुन् । खेलको ११, ३४ र ६० मिनेटमा उनले ह्याट्रिक पूरा गरेका हुन् ।
दोस्रो खेलमा बुधबारेको आदर्श माविले टाइब्रेकरमा ग्लोरी अङ्ग्रेजी माविलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित खेलमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि टाइब्रेकर रोजिएको थियो ।
निर्धारित समयमा आदर्शका पासाङ तामाङले खेलको १२ मिनेटमा गोल गर्दै खाता खोलेका थिए भने ग्लोरीका रमेश राजवंशीले ५०औँ मिनेटमा गोल गरेर बराबरी बनाएका थिए । टाइब्रेकरमा ३–० गोल अन्तरमा आदर्श विजयी भयो ।
बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’का अनुसार शुक्रबार छात्रातर्फ महारानीगञ्ज मावि शनिश्चरे र सेन्ट जेभियर्स अङ्ग्रेजी मावि देउनिया तथा इष्ट होराइजन धुलाबारी र सरस्वती मावि बुट्टाबारीबीच प्रतिस्पर्धा हुने्छ । प्रतियोगिता झापा जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति झापाले आयोजना गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here