असुरक्षित किसान

१२ मंसिर २०७८, आईतवार मा प्रकाशित

फलहरुको राजा भनिने किवी फलको खेती शुरु भएको धेरै भएको छैन । यसले गर्ने फाइदा, स्वास्थ्यमा पार्ने प्रभाव र परिणामका आधारमा राजा भनिएको किवी फलको खेती पछिल्लो समय पूर्वी पहाडी जिल्लामा व्यावसायिक ढंगले शुरु गरिएको छ । इलाम, पाँचथर, तेह्रथुम लगायतका जिल्लाका किसानहरु किवी खेतीप्रति आकर्षित भइ समूह बनाएरै व्यावसायिक खेती गर्दै आएका छन् । उपभोक्ताको जिब्रोमा किवीको स्वाद नै पस्न नपाई, यसको उपयोगिता र प्रभावको मूल्याङ्कन नै गर्न नपाई मूल्यमा आएको गिरावटका कारण किसानहरु चिन्तित हुन थालेको सामाचारले नेपाली किसानको पीडा बोलेको छ । बजारमा हुने गरेको मूल्यको लचकताका कारण किसानले प्रत्येक वर्ष आर्थिक क्षति व्यहोर्नु परिरहेको छ । इलाम, पाँचथर लगायतका पूर्वी पहाडी जिल्ला फलफूल र तरकारी खेतीका लागि प्रशिद्ध छन् । यस बाहेक अलैंची, अदुवा, अम्लिसो जस्ता नगदेबाली पनि यहाँका मुख्य आकर्षण हुन् । हावा, पानी र माटो अनुकूल आधुनिक तथा प्रविधिपूर्ण कृषि कार्यलाई त्यहाँका किसानहरुले व्यवसायमुखी बनाउँदै लगेका पनि हुन् ।

पछिल्लो काल मुटुको रोग, दम, क्यान्सर, अल्सर, आँखा, छाला रोगहरुमा निकै लाभदायक मानिएको किवी फलको उत्पादन बढाउन त्यहाँका किसानहरुले समूह नै बनाएका छन् । इलाम र पाँचथरमा संगठित किसानहरु अहिले यसको मूल्यमा आएको गिरावटका कारण निराश मात्र होइन विकल्प खोज्ने मानसिकतामा पुगेका छन् । दुई वर्षदेखि वैश्विक महामारीका कारण सरकारले बन्दाबन्दी घोषणा गरेसँगै सबै व्यापार–व्यवसाय ठप्प भएका थिए । अहिले संक्रमण कम हुँदै जाँदा बजार बिस्तारै लयमा फर्किदैछ । तर, किवी किसानहरुले बजारीकरणको अभावमा विगतको तुलनामा आधा मूल्यमा बिक्री गर्नु परिरहेको छ । पाँचथरका किसानले समूह बनाएर गरेको खेतीबाट मात्रै दश टनभन्दा बढी किवी उत्पादन गर्दै आएका छन् । दीर्घकालीन व्यवसायका रुपमा, अन्य बाली मासेर शुरु गरेको किवी खेतीको प्रवद्र्धनका लागि सरकार उदासीन भएका कारण किसानहरु निराश मात्रै होइन हतोत्साही भएका समूहका अगुवाहरु बताउँछन् ।

थोरै उत्पादन हुँदा उचित मूल्य पाएका किसानले अहिले यथेष्ट उत्पादन शुरु गरेपछि भने नोक्सानी व्यहोर्नु परेको छ । यता तराईका जिल्लाका उपभोक्ताहरुले भने मूल्यवृद्धिको राप खप्नु परेको छ । चिकित्सकहरुले समेत स्वास्थ्यका लागि फाइदाजनक भनेको किवी खेती बाह्रदेखि चौबीस सय मिटरसम्मको उचाइमा गर्न सकिन्छ । लागतको तुलनामा मूल्य पाउने भएर उत्साहित भएका किसान सरकारको असहयोग र विचौलियाका कारण मारमा पर्न थालेको अवस्था कृषि प्रधान देशका लागि दुःखद् हो । किसानको आर्थिक उत्थान गर्न र युवाहरुको विदेशिने क्रमलाई रोक्न पनि स्थानीय, प्रदेश तथा संघीय सरकारले कृषि वस्तुको बजारीकरणमा विशेष प्रबन्ध गर्नुपर्छ । त्यसो नभए देशको आयातमुखी बन्दै गएको अर्थ व्यवस्थालाई नियन्त्रण गर्न सकिने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here