
त्यो दिन बिहानैदेखि हुस्सु लगेको थियो । स्वस्थानीको पूजाको रौनक गाउँघरमा मज्जाले देखिन्थ्यो । एउटा अर्को गर्दै निमन्त्रणा आउने गर्दथे । पुष्पलतालाई निम्तो मान्न भ्याई–नभ्याई भइरहेको थियो । घरहरुमा भेला भएर रमाईलो गर्ने, राति अबेलाबसम्म काम गर्ने, सेलरोटी पकाउने अनि पूजाको रातमा जाग्राम बस्ने कार्यमा पुष्पलताको निकै सक्रियता हुने गर्दथ्यो । प्रायः छिमेकीहरुले उनकै खोजी गर्दथे ।
लघुकथा
पुष्पलताका विगतहरु हरेक वर्ष व्रत लिने र घरमा पूजा लगाउने कार्यमा बित्ने गर्दथ्यो । उनका श्रीमान समेत रहुसे स्वभावका थिए । गाउँघरमा विवाह व्रतबन्ध, पूजा समारोहहरुमा मानिसहरु उनको पनि त्यतिकै खोजी गर्दथे । एक सय आठ रोटी, एक सय आठ सुपारी, श्रीमानलाई प्रसादी टक्राउँदा पुष्पलताको खुशीको सीमा रहन्नथ्यो ।
केटाकेटी हुर्कदै गएपछि खर्चपनी बढेर गयो । रोगी आमाको उपचार र केटाकेटीको राम्रो पढाइका लागि पुष्पलताका श्रीमानले वैदेशिक रोजगारीको बाटो रोजे । आमनेपाली छोराहरु जस्तै उनी कटार पुगे । नेपाल छोडेको तीन महिनामात्र भएको थियो । घरको यादले उनको रातमा निद्रा हराम पार्दथ्यो । कामकै सिलसिलामा कारखानाको मेसिनमा परेर उनको ज्यान गयो । नेपालमा आफ्नो घरमा लास ल्याइपु¥याउन लगभग तीन महिना जति समय लाग्यो । आँशुमा डुबेको परिवारमा खुशीको कुनै सम्भावना थिएन ।
आज हुस्सुले छोपेको गाउँमा पुष्पलाताको मनमा पनि पुरानो यादको तुँवालोले छपक्कै छोपेको छ । गाउँमा स्वस्थानी पूजामा उनको सक्रियता घटेको छैन । उनमा अझै पनि भोलिको समृद्ध जीवनको चाहना स्वस्थानी माताले पूरा गरिदिने कुरामा विश्वास छ । अनि भरोसायुक्त भक्तिको भाव हृदयमा प्रकट हुन्छ । उनी प्रचुर सम्भावना बढ्दै गरेको छोराको अनुहारमा मज्जाले देख्छिन । हरेक बिहानीहरुमा आशाको किरण उदाउने गर्दछ ।



























