अर्जुनधारा।

किरात राई वान्तवाहरुको भाषा, संस्कार र संस्कृति संरक्षण गर्न सबै एकजुट हुनुपर्ने शुक्रबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् ।
किरात राई वान्तवा खिम नगर समितिद्वारा अर्जुनधारा–८स्थित सामुदायिक भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले उक्त कुरा बताएका हुन् ।किरात राई वान्तवा खिम नगर समितिका अध्यक्ष सिद्धिमान राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खिम केन्द्रीय समितिका अध्यक्ष ज्ञान किरातीले गरेका थिए ।
कार्यक्रममा किरात राई वान्तवा खिमका केन्द्रीय सचिव रामप्रसाद राई, खिम झापाका अध्यक्ष अर्जुन वान्तवा राई, किरात राई यायोक्खा नगर समितिका उपाध्यक्ष शिवकुमार राई, खिमका बुद्धशान्ति गाँउ समितिका अध्यक्ष चक्र वान्तवा राई, नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राई, शनिश्चरे प्रहरी चौकीका प्रमुख सई रवि राईलगायतले आफ्नो धारणासहित मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा खिममा आवद्ध २७ जना आजिवन सदस्यलाई प्रमाण पत्र वितरण गरिएको समितिका सचिव तेजबहादुर राईले जानकारी दिए । सोही कार्यक्रममा किरात राई वान्तवा खिम केन्द्रीय कार्यसमितिको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
समितिकी उपाध्यक्ष मिश्रकुमारी राईले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर राईले गरेका थिए ।































