प्रज्ञापनपत्र नै नक्कली !

0
424

झापा।

मेची भन्सार कार्यालय काँकरभिट्टामा कर्मचारीकै मिलेमतोमा जाँचपाससँगै राजश्व नतिराई सरसामान बोकेका सवारीसाधन त्यतिकै छाडिने गरेको खुलासा भएको छ ।

त्यति मात्र नभई भन्सारबाट निस्किएका सवारीसाधनले भन्सार प्रज्ञापनपत्र नै नक्कली बनाएर सरसामान लैजाने गरेको समेत पाइएको छ । गत जेठ २२ गते राति १२ बजे मेची भन्सारभित्रै पार्किङ शुल्कसमेत तिरेर भन्सारकै गेटबाट जाँचपास भई निस्किएका रक्त चन्दनको बिरुवा र आलु बोकेका तीनवटा भारतीय मालवाहक ट्रक सशस्त्र प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

प्रज्ञापनपत्र नक्कली बनाएर कर छलीको रहस्य बाहिरिएसँगै घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिलाउन अहिले स्वयम् भन्सार कर्मचारी र भन्सार एजेन्ट नै दौडधुपमा लागेको भन्सार निकट स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगरको जोरसिल चेक पोष्टबाट नियन्त्रणमा लिएका तीनवटा भारतीय ट्रक राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ ।
राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालले आलु र बिरुवा बोकेको तीनवटा भारतीय ट्रकको प्रज्ञापनपत्र नक्कली भएको पुष्टि गरेका छन् । नियन्त्रणमा लिएका ट्रकहरू डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० रहेका छन् ।

जफत गरिएको सवारीमा विरुवा र आलु थियो। विरुवा नष्ट गरिएको छ । केही आलु कुहिएको थियो भने करिब ८ लाख रुपैयाँको आलु प्रतिकेजी हिसाबले बिक्री गरिएको राजश्व अनुसन्धान प्रमुख खनालले जानकारी दिए ।

ती सवारीसाधनमा लोड भएका सामानको प्रकृति र परिमाण प्रज्ञापनपत्रमा उल्लेख भए भन्दा फरक रहेकोले कर्मचारी संलग्नता पुष्टि गर्छ । अहिले मिलेमतोमा सबै कागजात नक्कली साबित गराएर घटना नै गुपचुप बनाउन खोजिएको स्रोतको दावी छ ।

गैरकानूनी धन्दामा सबैको संलग्नता पुष्टि हुने डरले भन्सारको सिस्टमबाटै ती सवारीसाधनको डाटा नै गायव गरिएको भन्सारकै एक जना कर्मचारीले बताएका छन् । नियन्त्रणमा लिएका ट्रकमा नेपालमा प्रतिबन्धित रक्त चन्दनको बिरुवा समेत रहेको स्रोतको दाबी छ ।

प्रतिबन्धित सामग्री भन्सारभित्रबाटै तस्करी भएको पोल खुल्ने भएपछि बिरुवा बनाएर घटना गुपचुपमै नष्ट गरिएको हो । नक्कली प्रज्ञापन पत्रसँगै सो सामान भन्सार गरेर पठाउने व्यक्तिको पान बिलसमेत सुरक्षित रहेकोले भारतबाट सामान पठाउने र काँकरभिट्टाबाट सामान पश्चिम पठाउने एजेन्टको विषयमा राजश्वले अनुसन्धान गरिरहेको खनालले बताए ।

‘भन्सार परिसरभित्रबाट पार्किङ शुल्कसमेत तिरेर निस्किएका सवारी, र सामानको प्रज्ञापनपत्र समेत नक्कली भएको पुष्टि गरिनु घटना प्रकृति नै अचम्मको देखियो’– खनालले भने– ‘यस बारेमा थप अनुसन्धानका लागि मेची भन्सारलाई पत्र काटेका छौँ ।’

‘लालीगुराँस फर्मका विषयमा अनुसन्धान भइरहेको बताउँदै उनले भने– ‘आरोप पुष्टि हुने बित्तिकै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिनेछ ।’ प्रज्ञापन रहेको ट्रकहरूमा क्रमशः ६ हजार ५ सय ९३, ६ हजार ५ सय ९३ र ६ हजार ५ सय ५३ रुपैयाँ भन्सार दाखिला भएको रसिद काटिएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका डिएसपी तथा प्रवक्ता डिएसपी प्रेम भण्डारीले बताए ।

‘प्रज्ञापन पत्र नक्कली हो भन्ने कुरा हामीलाई थाहा हुँदैन’– डीएसपी भण्डारीले भने– ‘आशंका लागेपछि मात्र चेकजाँच गरिन्छ, ट्रकभित्र के कस्ता सामान थियो, त्यो हेर्न अधिकार सशस्त्रलाई हुँदैन, हामीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई बुझाइ दियौँ ।’

मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीले तीनवटै ट्रकको प्रज्ञापनपत्र कार्यालयको सिस्टममा नभएको दावी गरेका छन् । यस घटनाको बारेमा मेची भन्सारले पनि अनुसन्धान गरिरहेको ओलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here