दलहरुप्रतिको आकर्षण घट्दो

६ असार २०७९, सोमबार मा प्रकाशित

आवधिक निर्वाचन प्रजातन्त्रको सौन्दर्य हो । नेपालमा पहिलो आम निर्वाचन २०१५ बाट मताधिकार मार्फत आफ्नो प्रतिनिधि चयन गर्ने अभ्यास प्रारम्भ भयो । यद्यपि बहुदलीय प्रणाली विस्थापन भई निर्दलीय प्रणाली प्रारम्भ भयो तर निर्वाचन भने भइरह्यो । यसबीचमा दलीय व्यवस्थाको लागि समय–समयमा आन्दोलन पनि भए त्यसकै जगमा जनमत संग्रह गरियो । जसले मताधिकारको मूलभूत मूल्य र मान्यतालाई स्थापित ग¥यो । त्यसपछि पनि पञ्चायती शासन व्यवस्थाको निरन्तरताका लागि निर्वाचन नै गरिए जहाँ दलीय आग्रह थिएन, न दलका नाममा मत मागियो न त दलको झन्डा र घोषणापत्रका साथ निर्वाचन जितियो । यही अवस्थाकाबीच ०४६ मा भएको जनआन्दोलन र ०६१–०६२ को आन्दोलन सात सालअघि कै पृष्ठभूमिबाट सञ्चालन गरिए ।

आज परिस्थिति निकै बदलिएको छ । ०६१–०६२ को जनआन्दोलनले सर्वथा नौलो प्रणाली स्थापित ग¥यो । पुरानो संरचना ढल्यो र जनताद्वारा अनुमोदित राज्य व्यवस्था र जनप्रतिनिधिले देशको शासन सञ्चालन गर्न थाले । नयाँ संविधान बन्यो, जसले दलीय प्रतिस्पर्धाको आधारमा निर्वाचन जितेर सरकार पनि निर्माण ग¥यो । त्यही परिपाटीको निरन्तरताले एउटा संघ र प्रदेशको निर्वाचनको अनुभव दिलायो । त्यस्तै भर्खरै सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा मतदाताले फरक मत प्रदान गरेर दलीय उम्मेदवारको विकल्प पनि रोजे । लोकतन्त्र प्रारम्भ भएको यति छोटो समयमै गैरदलीय अर्थात् स्वतन्त्र उम्मेदवारले पाएको मत र विजयको परिदृष्यले राजनीतिक दृष्टिलाई भने सोचनीय बनाएको छ ।

देशको राजधानी, ढाँचा अनुसार महानगर, उपमहानगर जस्ता पूर्वाधारले पूर्ण, सचेत, भौतिकताले सम्पन्न इकाहरुमा दलीय उम्मेदवारको विकल्पमा स्वतन्त्रले विजय प्राप्त गर्नु केवल घात, अन्तर्घात, विभाजन मात्र जिम्मेवार छैन । यसले कतै नेता, दलहरुको विकल्प त खोजेको होइन भन्ने देखाएको छ । यसै त नेपाली मतदाताहरुको दलीय पद्धति र नेताहरुको कार्यशैलीप्रतिको वितृष्णा भन्ने गरिएको छ यसलाई । दलीय नेताहरुको दम्भ, कार्यशैली, पूर्वाग्रही चरित्र, सत्ता लोलुपता, अवसरमुखी प्रवृत्ति पनि दलप्रतिको विकर्षणको कारण हुन सक्छ । हुनसक्छ उनीहरुले नागरिकको इच्छा, आकांक्षा, आवश्यकता र अपेक्षालाई सम्बोधन गरेनन् । हुँदा–हुँदा राजनीतिक घटनाक्रममा एमसीसी र अहिले एसपीपी जस्तो सम्झौताहरुमा दलहरु एकअर्कालाई हिलो छ्याप्न प्रतिष्पर्धा गरिहेको सन्दर्भले पनि आसन्न निर्वाचन स्वतन्त्रापेक्षी हुने संकेत गरेको छ । जनताले असन्तुष्टि प्रकट गर्ने ठाउँ नै निर्वाचन भएकाले सार्वभौम नागरिक त्यसको प्रयोग यसरी नै गर्छन् भन्नेतर्फ दलहरु सचेत हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here