२०६४ सालतिर प्रस्तुत गरिएको एउटा नाटक यतिबेला चलचित्रको रुपमा प्रदर्शन हुँदैछ । चलचित्र हो टलकजंग भर्सेस टुल्के । बिर्तामोडमा आज चलचित्र टलकसिंह भर्सेस टुल्केको युनिटले पत्रकार सम्मेलन गरी चलचित्र आउँदो शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने जानकारी गराएका छन् ।
९५ लाख रुपैयाँ लागतमा एक वर्षभन्दा बढी समय लगाएर तयार पारिएको चलचित्र समाजमा हेपिएर बसेको टलकजंगको नाम कसरी टुल्के भयो भन्ने बारेमा तयार पारिएको निर्देशक निश्चल बस्नेतले जानकारी दिए । काठमाण्डौ उपत्यकामा रिलिज भईसकेको यस चलचित्रले सुरुका दुइ दिनमै ३२ लाख रुपैयाँको व्यापार गरेको निर्देशक बस्नेतले जानकारी दिए ।
चलचित्रको बारेमा कुरा गर्दै निश्चलले भने चलचित्रमा साधारण कथा छ । गाउँमा जन्मेहुर्केको टुल्केले गरेको संघर्ष र उसलाई समाजले होच्याएर बोलाउनुको कारणका बारेमा चलचित्र तयार पारिएको छ । लुट र कबड्डीजस्ता चलचित्रबाट अनुभव बनाईसकेका निर्देशक बस्नेतले लुटजस्तै सोचेर चलचित्र हेर्न जाँदा चाहिँ नगाग्ने बताए । उनले टलकजंग भर्सेस टुल्के फरक प्रकारको चलचित्र भएको प्रतिक्रिया दिए ।
चलचित्रमा टुल्केको भुमिकामा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् भने उनका अलावा ऋचा शर्मा, दयाहां राई लगायतको पनि अभिनय रहेको छ । निर्देशक बस्नेतको गृहजिल्ला झापा रहेकाले झापामा चलचित्रले राम्रो व्यापार गर्ने उनको विश्वास छ ।