लैङ्गिक हिंसा भनेको के हो ?
लैङ्गिक विभेद एउटा सोच हो । लामो समयदेखि चलिआएको गलत सामाजिक अभ्यास हो, जसले कुनै पनि व्यक्तिको निजी वा सार्वजनिक जीवनमा लैङ्गिक आधारमा शारीरिक, मानसिक, आर्थिक, सांस्कृतिक तथा यौनजन्य तवरले पीडा पुर्याउने कार्य गर्दछ । छोरा भएकै कारण वा छोरी भएकै कारण कामको बाँडफाँडका आधारमा गरिने सामाजिक विभेद नै लैङ्गिक हिंसा हो । यसले महिला र बालिकाहरुलाई बढी प्रभाव पारेको हुन्छ । लैङ्गिक हिंसाबाट प्रताडित हुनेमा महिला र बालिका बढी छन् । स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक–अधिकारको असमान वितरण, बालविवाह, महिलालाई सामाजिक हिसावले सिमित दायरा तोक्नु, महिलाको घरेलु कामको मूल्यांकन नगरिनु जस्ता कार्यहरु लैङ्गिक हिंसा अन्तर्गत पर्दछन् ।
हाम्रो समाजमा लैङ्गिक हिंसाको अवस्था कस्तो छ ?
विभिन्न आध्यात्मिकता मिसिएको विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेको छ । जसले गर्दा महिला माथिको नियन्त्रणको दायरा अझै पनि कसिलो देखिन्छ । हाम्रा सामाजिक मूल्य र मान्यताले महिलालाई सधैँ कमजोर वर्ग र पुरुषलाई शक्तिशाली वर्गको रुपमा व्यवहार गर्ने, चित्रण गर्ने गर्दै आएको छ । हाम्रो सामाजिक लोकअभ्यास पुरानै ढाँचामा रहेका कारण लैङ्गिक हिंसाबाट पुरुष वर्ग पनि पिडित छन् भन्ने कुरा हाम्रा अभियानहरुले बुझाउन सकेका छैनन् । पुरुषले परिवारको पालनपोषण गर्नैपर्छ, पुरुषले रुनु हुँदैन, पुरुषले महिलाबाट हेपिनु भनेको ‘पुरुषत्व’मा आँच आउनु हो भन्ने जस्ता विभेदकारी चिन्तनका कारण पुरुषवर्ग स्वयम् जसरी भए पनि कमाउन बाध्य छ ।
वैदेशिक रोजगारका लागि मुलुक बाहिर जान बाध्य छ, परिवार विखण्डन भएका छन्, बाकसमा लास फर्किएका छन् । बढी मानसिक प्रेसरका कारण विश्वमा ७० देखि ८९ प्रतिशत पुरुषलाई हर्टअट्याकको अनुभव हुने गर्छ । तर, महिलालाई सामान्य वाकवाकी वा रिंगटा मात्र अनुभव हुन्छ भन्ने एक सर्वेक्षणले देखाउँछ । यसरी लैङ्गिक विभेदका कारण पुरुष समेत पीडित छन् । तर, पुरुष बलियो हुनुपर्छ भन्ने सामाजिक मान्यताका कारण आफूमाथि भएको हिंसाबिरुद्ध पुरुषहरु उजुरी गर्दैनन् । महिलाको भूमिकाको आर्थिक मूल्यांकन नहुनु सार्वजनिक सञ्जालहरुमा महिलाको गलत चित्रण गर्नु, महिलाको हकमा यौनप्रतिको सामाजिक दृष्टिकोण, पितृसत्तात्मक संरचनाबाट लाभांश लिने वर्गको मौनता आदिका कारण हाम्रो समाजमा लैङ्गिक हिंसाले बलियो रुपमा जडा गाडेर बसेको छ ।
गै.स.स. ओरेक नेपालको महिला हिंसाबिरुद्धको वर्ष पुस्तक २०७९ अनुसार महिलामाथि हुने हिंसामध्ये ६५ प्रतिशत घरेलु हिंसा र त्यो गर्नेमध्ये ७७ प्रतिशत श्रीमान रहेका छन् । पुनः दोहोर्याएर हिंसामा पर्ने महिला करिब ८२ प्रतिशत छन् । यसबाट हाम्रो समाजमा घरेलु हिंसाबाट महिला नै बढी प्रताडित छन् भन्ने तथ्यांकले देखाउँछ ।
हिंसाका प्रकार कस्ता छन् ?
हिंसाका प्रकारहरु मुख्यतयाः शारीरिक हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, यौनजन्य हिंसा, सांस्कृतिक हिंसा, सामाजिक हिंसा आदि हुन् । तर, हिंसाका स्वरुपहरु फरक–फरक हुन सक्दछन् ।
हिंसाबिरुद्धको कानूनी व्यवस्था के छ ?
नेपालमा मुलुकी ऐन २०२० हुँदै विभिन्न कानून बन्दै लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ पश्चात हाल विद्यमान रहेको मुलुकी देवानी संहिता २०७४ र फौजदारी संहिता २०७४ सम्म आईपुग्दा लैङ्गिक विभेद अन्त्य गर्नका लागि प्रशस्त कानूनी व्यवस्था रहेका छन् । छोरा र छोरीमा समान अंश हक, विवाह गरेकी छोरीले अंश पाउने, पतिपत्नीले एक अर्कालाई समान व्यवहार गर्नुपर्ने, बहुविवाह वर्जित, वैवाहिक बलात्कारमा सजाय, विवाहित अविवाहित जुनसुकै छोराछोरीले आमाबाबुको पालनपोषण गर्नुपर्ने जस्ता थुप्रै लैङ्गिक समानताका कानूनी व्यवस्था रहेका छन् । घरेलु हिंसा गर्ने महिला वा पुरुष जोसुकैलाई सजाय हुने जस्ता थुप्रै लैङ्गिक समानताका कानूनी व्यवस्था रहेका छन् । यसैगरी संविधानको धारा ३८ मा महिलाको हक अन्तर्गत ‘राज्यका सबै निकायमा महिलालाई लैङ्गिक समानुपातिक र समावेशी सिद्धान्ततको आधारमा सहभागी हक हुनेछ ।’ –भनिएको छ ।
संविधानको धारा ३८ (३)मा महिलाबिरुद्ध धार्मिक, सांस्कृतिक, सामाजिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था बमोजिम कानून बनेका छन् । जसले लैङ्गिक हिंसाका बिरुद्धमा उजुरी गरी कानूनी उपचार प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ ।
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको औचित्य के हो ?
लैङ्गिक हिंसाबिरुद्धका कार्यक्रम भइरहेका हुन्छन् । तर, ती त्यति सार्वजनिक भएका हुँदैनन् । तर, हिंसाबिरुद्धको १६ दिने अभियानले निरन्तर १६ दिनसम्म हिंसाबिरुद्ध विश्वभरी नै महिलाको पक्षमा छलफल गरिरहँदा आममानिसमा एक प्रकारको तरंग ल्याएको हुन्छ । एउटा आन्दोलनको रुपमा यसले समाज रुपान्तरणमा भूमिका खेल्छ । मानिसहरु बाध्य भएरै भए पनि महिला हिंसाका बिरुद्धमा बोलीरहेका हुन्छन् । धेरै संघ–संस्थाहरु यो अभियानमा १६ दिनसम्म निरन्तर लागीरहेका हुन्छन् । १६औं दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएर विश्वका मानव एक हौं भन्ने भावना र सन्देश दिइरहेको हुन्छ । १६ दिनसम्म एउटै विषयमा आवाज आउनु भनेको परिवर्तनको प्रभावकारी लहर हो । विश्वभरीका मानिसहरुले एकैपटक १६ दिनसम्म हिंसापीडितका लागी आवाज उठाउनु भनेको निकै महत्वपूर्ण विषय हो । यसले हिंसा न्यनीकरणमा कुनै न कुनै रुपमा महत्वपूर्णरुपमा भूमिका खेलिरहेको हुन्छ । सभ्य समाजको निर्माणका लागि हिंसारहीत वातावरण बनाउन विश्वभरीबाट एकैपटक एकै समयमा आवाज उठाउनु नै लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको औचित्य हो ।
लैङ्गिक हिंसा अन्त्य गर्न के गर्नुपर्छ ?
लैङ्गिक हिंसा अन्त्यका लागी नयाँ पुस्ताबाट नयाँ थालनी गर्न सकिन्छ । हामीले गर्दै आएका पुराना विभेदकारी सामाजिक अभ्यासहरुलाई आफूबाटै परिवर्तन गर्नुपर्छ । शिक्षा प्रणालीमा थप सुधार ल्याई पाठ्यक्रममा अनिवार्य रुपमा कानून विषयलाई समावेश गर्नुपर्छ । राज्यको तहबाट हरेक स्थानमा महिलामैत्री वातावरण बनाउने पहल गरिनुपर्छ । हिंसाबिरुद्धको अभियानमा पुरुषको अनिवार्य सक्रिय भूमिका रहने अभ्यास गर्नुपर्छ । कानूनमा भएका व्यवस्थाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि पीडितलाई संरक्षण गर्ने र पीडकको आचरण सुधारका लागि अनिवार्य केही समय तालिम तथा परामर्श लिनै पर्ने व्यवस्था राज्यबाटै गरिनुपर्छ । हिंसाबिरुद्ध बोल्ने, उजुरी गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने व्यवस्था गर्नुपर्छ ।