राज्यको उपल्लो तह र पदमा बसेकाहरु नै अनैतिक, अमर्यादित, भ्रष्ट र राष्ट्रिय अस्मिताबिरुद्धका गतिविधिमा संलग्न भएपछि अरु अङ्ग, निकाय र पदमा रहेका व्यक्तिहरुबाट अपेक्षा नै के गर्न सकिन्छ ! यो प्रश्न अहिले नेपाली जन–धनको मुखमा झुण्डिएको छ । देशको उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको मानिस भ्रष्टाचार, पद र अधिकारको दुरुपयोग गरेको आरोप लाग्दा लुकेर, भागेर र अन्ततः प्रहरी हिरासतमा पुग्नु नेपालीको शिर निहुरिने उदाहरण हो । अदालतले पक्राउ पुर्जी जारी गरेको थाह पाए लगत्तै फरार भएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई बाह्र दिनपछि प्रहरीले लुकेको ठाउँबाट पक्राउ ग¥यो । देश र जनताको जीवन रुपान्तरण गर्छांै भन्ने दलहरुको प्रतिबद्धता नक्कली भुटानी शरणार्थी प्रकरणले जनताको आँखामा छारो हाल्ने मात्र देखियो ।
राजनीतिक दल र शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुलाई प्रहरीले दिनहुँ पक्राउ गरिरहेको छ । पक्राउ परेकाहरुको बयानका आधारमा केही खोजीमा सूचीमा रहेका छन् । यही बेला विदेश पठाउने नाममा करोडौं रुपैयाँ ठगी भइरहेको समाचार पढ्दा र सुन्दा दिक्क लागीरहेका बेला झापा बिर्तामोडको एउटा प्रतिष्ठित परिवारको उठिबास गराउने धोकाघडीको घटना बाहिर आएको छ । विगतमा जिल्लाको राजनीति र स्थानीय सरकारको नेतृत्व समेत गरेका व्यक्ति र उनको भाइ समेतको जग्गा जालझेल गरी हडपेपछि पीडित एक व्यक्ति त्यही मानसिक पीडाका बीच मृत्युवरण गर्न पुगेका छन् । त्यसो त झापामा यसअघि पनि किर्ते गरी अरुको जग्गा हडप्ने गिरोह पक्राउ परेका पनि छन्, तर अझै किर्तेकाइते गर्नेहरु निरुत्साही भइरहेका छैनन् ।
हुन त जहाँ राज्यको महत्वपूर्ण ओहदा र जिम्मेवारीमा रहेका व्यक्तिहरु नै भ्रष्ट हुन्छन्, भौतिक सुखका लागि पदीय मर्यादा बिर्सन सक्छन् भने सर्वसाधारण सुरक्षित हुनै सक्दैनन् । यही अवस्था भोग्दैछन् बिर्तामोड–८ का हरि मैनालीका परिवारले । आफ्नो सर्वस्व लुटिएको मैनाली परिवारलाई छिमेकीको आक्रोश, बिद्रोह र दवावका कारण जिल्ला प्रशासन कार्यालयले पीडकलाई कानूनको दायरामा ल्याउने आश्वासन दिएको छ । चिनजानकै भरमा दाजुभाइको गरी झण्डै तीन विगाह जग्गा हडपेर पुख्र्याैली सम्पत्तिका मालिक मैनाली परिवारको विचल्ली पार्नेहरुलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्नु स्थानीयको मात्र होइन आम मानिसको मागलाई प्रशासनले गम्भीरतापूर्वक लिनुपर्छ । अनैतिक, दूराचारी र भ्रष्ट मानसिकतालाई परास्त गर्दै विधि, नीति, धर्म र न्यायको स्थापनाका लागि राज्यको अग्रसरता देखिनैपर्छ । त्यसो हुन सकेन भने भूमाफियाको जालझेलबाट ढिलो–चाँडो सबै पर्न सक्छन् ।