पीडितलाई हिरासतमा राखेको आरोप

0
109

झापा ।

झापाको शिवसताक्षी–८ मा असार २१ गते भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान गर्ने भन्दै पीडितलाई उल्टै हिरासतमा राखेको पाइएको छ ।

घटनापछि घाइते भएर उपचार गरेका रामबहादुर थापालाई इलाका प्रहरी कार्यालय झिलझिलेले हिरासतमा राखेको पीडित परिवारले बताएका छन् । सीमाना विवादको निहुँमा स्थानीय अजेश सुवेदी, मिना मिश्र सुवेदी, निरोज सुवेदी र रोहित सुवेदीको समूहले थापा परिवारमाथि निर्घात कुटपिट गरेको विहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित रामबहादुरकी छोरी लज्जा थापाले बताइन् ।

पीडित परिवारको तर्फबाट असार २२ गते कुटपिटमा संलग्न सुवेदी परिवारका चारै जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मा मुद्दा दर्ता गरिएको थियो । इलाका प्रहरी कार्यालय झिलझिले र झापा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सुवेदी र थापा परिवारको सीमाना विवाद सम्बन्धी मुद्दा वडा कार्यालय र नगरपालिकामा रहेको न्यायिक समितिमा समेत छलफल भए पनि हल हुन नसकेको स्थानीय खेम बुढाथोकीले बताए । विवादकै बीच खेतमा आली लगाउने तयारी गर्दागर्दै थापा परिवारमाथि सुवेदी परिवारले घरेलु हतियार (रड, ढुङ्गा, मुडा)ले आक्रमण गरेको पीडित परिवारकी आफन्त तथा प्रत्यक्षदर्शी बिनिता भट्टराईले बताइन् ।

ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परे पनि प्रहरीले अजेश सुवेदी र मीना मिश्र सुवेदीलाई पक्राउ नगरेको पीडितको भनाइ छ । जसमध्ये प्रहरीकै सेटिङमा मिना अमेरिका गएको उनीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here