थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने कार्यमा संग्लन
योगेन्द्र योगी
बिराटनगर :
साउदी सुरक्षा बलले एक हप्तामा विभिन्न क्षेत्रबाट १९ हजार ५४१ गैरकानुनी नागरिकलाई पक्राउ गरेको छ । डिसेम्बर २६ देखि जनवरी १ सम्मको अवधिमा सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा गरिएको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने ११ हजार ४०२, सीमा सुरक्षा ऐन उल्लङ्घन गर्ने ४ हजार ७ सय ७५ र श्रम कानून उल्लंघन गर्ने ३ हजार ३ सय ६४ रहेका छन् । राज्यमा सीमा पार गर्न खोज्दा पक्राउ परेका व्यक्तिहरूको कुल संख्या ९५३ थियो, जसमध्ये ४० प्रतिशत यमनी नागरिक, ५८ प्रतिशत इथियोपियाली नागरिक र दुई प्रतिशत अन्य राष्ट्रियताका रहेको मन्त्रालयले जनाएको छ । अवैध रूपमा राज्य छोड्न खोज्दा जम्मा १२९ जना पक्राउ परेका छन् ।
उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने, आश्रय दिने र काममा लगाउने २७ जना पनि पक्राउ परेका छन् । ३० हजार ७२४ पुरुष र ३ हजार ९ महिला गरी ३३ हजार ७३३ गैरकानुनी रूपमा बसोबास गर्नेहरू विरुद्ध दण्डात्मक कारबाहीका क्रममा अहिले विभिन्न चरणमा कानुनी प्रक्रियाबाट गुज्रिरहेका छन् ।
मन्त्रालयका अनुसार २२ हजार ८२७ उल्लङ्घनकारीहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगमा पठाइएको जनाएको छ। एक हप्तामा ८ हजार ९५४ उल्लङ्घनकारीहरूलाई देश निकाला गरिएको बताईएको छ।
मन्त्रालयले गैरकानुनी सीमा नाकाबाट सहजीकरण गर्ने वा सहभागी गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ । यी दण्डहरूमा १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिवाना र यी अपराधमा प्रयोग हुने सवारी साधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ।
देशका सुरक्षा बलहरूद्वारा गरिएको क्र्याकडाउनले राज्यका सबै क्षेत्रहरूमा कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीब्र रुपमा अघि बढाईएको छ। उनीहरूले जनतालाई राज्यभरि तोकिएको आपतकालीन सम्पर्कहरू मार्फत कुनै पनि संदिग्ध उल्लङ्घनको रिपोर्ट गर्न आग्रह गरेको छ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रबासीलाई लक्षित गरि धड्पड अभियान तीब्र पारेसंगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौ नेपालीहरु पनि पक्राउ परेका र हाल उनीहरुलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्य कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।
साउदी पुगेका साउदी जेलमा ६१५ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेका छन्।
साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ ।
एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । यस्तै रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले गैरकानुनी रुपमा बसेका नेपालीहरुलाई पनि एक्जिट भिसा दिदै आएको छ।