रत्नबहादुर बस्नेत,
बिर्तामोड ।
नेत्रहीन संघ झापाले विविध कार्यक्रमसहित २१६ औं लुइस ब्रेल जन्मजयन्ती तथा सातौं विश्व ब्रेल दिवस मनाएको छ।
नेत्रहीन संघले शुभकामना आदानप्रदान तथा विभिन्न खेलकूद, ब्रेल लेखन प्रतियोगिताको आयोजना गरी ब्रेल लिपिका जन्मदाता लुइस ब्रेलको २१६अौं जन्मजयन्ती तथा सातौं विश्व ब्रेल दिवस मनाएको हो।
बिर्तामोड नगरपालिका–३ का वडा सदस्य हरि बाँस्कोटाको प्रमुख आतिथ्य तथा नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम खतिवडाले स्वागत गरेका थिए।
कार्यक्रममा संघद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजयी ब्रेल लेखन तर्फ प्रथम मोनिका चौहान, द्वितीय पवित्रा तामाङ र तृतीय टीकाराम महतो, छेलो हान्ने तर्फ प्रथम गौविन्द न्यौपाने, द्वितीय दिपक तामाङ, तृतीय कमल भण्डारी, म्युजिकल चियर तर्फ प्रथम पवित्रा तामाङ, द्वितीय भीमकुमारी श्रेष्ठ, तृतीय कल्पना बास्तोला र हण्डी फुटाउने प्रतियोगिताका विजयी होमप्रकाश तिम्सिनालाई पुरस्कार प्रदान गरिएको थियोे ।
नेत्रहीन संघ झापाका संस्थापक अध्यक्ष खेम रेग्मीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिर्तामोड खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष मेघराज बास्तोला, दुर्गा मावि गरामनी प्रधानाध्यापक लक्ष्मण शिवाकोटी , रोटरी क्लबका पूर्व अध्यक्ष सिद्धार्थनविन उप्रेती, विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौला, नेत्रहीन संघका सल्लाहकार दोर्णचार्य निरौला, सल्लाहकार सामाजिक अभियान्ता गणेश ढुंगानालगायतले शुभकामना मन्तव्य राखेका थिए।
सोही अवसरमा दुर्गा माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीका लागि ब्रेल पेपर प्रदान गरिएको थियो। खेलकूद तर्फ ओमप्रकाश तिम्सिनाले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सचिव दिलकुमार राजबंशी र केशव न्यौपानेले गरेका थिए।