लेखे वेद पुराण व्यास ऋषिले भण्डार छन् ज्ञानका
पैलो सृष्टि हुँदै भविष्य सब छन् ब्रह्माण्ड विज्ञानका
केही छन् भगवानका स्तुति कथा निन्दा कुनै दानव
केही छन् पशुका र बोट–बिरुवा पंक्षी सबै मानव ।
पृथ्वी सागरका खगोल भरका नक्षत्र तारा पनि
तिन्का व्यास उचाइ ताप ग्रहका दूरी निकाले गनी
लेखे भूत भविष्यका सब कथा देखे सबै गर्भका
लेखे पुण्य र पाप के जगतमा व्याख्या गरे धर्मका ।
भन्छन् व्यास ‘पढेर शास्त्र गुरुले पाएर व्यासासन
बाँडुन् ज्ञान मनुष्य मूर्ख जनमा मीठा सुधा भाषण
स्वार्थी भाव नराख पण्डितहरु बाँड्दा हुने ज्ञान हो
बाँडेमा अझ बढ्छ ज्ञान गुरुजी आफ्नो बडो मान हो ।
आफैं बर्त बसेर भक्ति मनले टुप्पी शिखा मुण्डन
पाएको जति दानमा खुसी हुनु आनन्द राखी मन
बेच्नै हुन्न किमार्थ शास्त्र गुरुले बेचे महा पाप छ
गर्दा मोल र तोल व्यास गुरुले मेरो कडा श्राप छ ।
ऐलेका गुरुजी पढाइ बढिया आचार्य, शास्त्री गरी
लाखौं लाख कमाइ हुन्छ कसरी चाँजो मिलाइ वरी ।
भन्छन्– ‘पितृ म तारिदिन्छु सबका आफू सिँधै स्वर्गमा
धेरै दान दिनेहरु जति सबै पर्दैन क्वै नर्कमा’ ।
‘कर्लिङ’ केश फिँजाउने गुरुहरु ‘पार्लर’ सधैँ धाउँछन्
दारी छन् अधियाँ र कुण्डल धरी चुड्के बढी गाउँछन्
खोल्दैनन् गुरुजी पुराण कतिका भित्रि कथा सुन्दर
आफ्नै भाषण मिल्छ के त गुरुमा ऐना छ हेर्दै गर ।