नेपाली समाज श्रम संस्कृति र अध्ययन संस्कृतिलाई सम्मान नगर्ने समाजमा पर्दछ । श्रम संस्कृतिप्रति सम्मान गर्ने समाज मात्र प्रगतिपथमा अघि बढ्न सक्छ । हाम्रो शिक्षा प्रणालीमा पाठ्यक्रम र पाठ्यपुस्तकको उद्देश्य श्रमको सम्मान रहेको लेखिए पनि वास्तवमा नेपाली मानसिकता त्यस्तो छैन । त्यस्तै पछिल्लो समय सूचना तथा प्रविधिको विकाससँगै पुस्तक पढ्ने संस्कृति हराउँदै गएको छ । योे प्रवृत्ति शिक्षक र विद्यार्थी दुबैमा बढ्दो छ । यो चिन्ताको विषय हो । पठन संस्कृतिको विकास नभएसम्म समाज रूपान्तरण हुँदैन । विद्यार्थीले पनि पाठ्यक्रमका पुस्तक मात्र नभई अन्य पुस्तकहरु पनि अध्ययन गर्नु अनिवार्य छ ।
विदेशमा बस तथा रेलमा यात्रा गर्दादेखि स्वीमिङ पुलमा पनि पुस्तक पढ्ने संस्कृति छ । हाम्रोमा भने पुस्तक अध्ययन गर्नेभन्दा मोबाइलमै रमाउनेको संख्या बढ्न थालेको छ । यसले समाजको सकारात्मक परिवर्तन हुन सक्दैन । अचेलको पुस्ता गहिरो अध्ययन गर्दैन, ऊ त अखबार, टेलिभिजन र एफएमहरूका अपरिस्कृत, अर्धप्रशोधित र कतिपय सन्दर्भमा त प्रायोजित, अर्धसत्य या असत्य सूचनाहरू समेतलाई बोकेर धारणा बनाउँछ र दैनन्दिन व्यवहार धान्छ भन्नुपर्दा असहज लाग्छ । तर, यो तीतो सच्चाइ हो ।
एउटा शिक्षक आफ्नो पुरानो च्यातिएको नोटले जीवन गुजारा गर्छ, एउटा चिकित्सक १० वर्षअघि पढेको ज्ञान बेचेर बिरामीबाट फि लिन्छ भने उनीहरू कसरी रूपान्तरित विश्व परिवेशसँग अद्यावधिक हुन सक्छन् र ? आफ्ना क्षेत्र र विषयका बदलिएका सन्दर्भहरुमा अद्यावधिक नहुने शिक्षक, चिकित्सक, इञ्जिनियर, राजनीतिकर्मी, विश्लेषक, शोधकर्ता, व्यापारी, व्यवसायी कसैले पनि आफ्ना लागि, समाजका लागि र राज्य तथा सिंगो मानवताका लागि ठूलो योगदान गर्न कठिनाइ हुन्छ । तसर्थ, रुपान्तरणका लागि विश्वमा भइरहेका बद्लावको प्रकृति, गति र परिवेश बुझ्न आवश्यक छ । यसका लागि अध्ययन आवश्यक छ । दुनियाँ बुझ्न धेरै पढ्नुपर्ने हुन्छ । सुनेका भरमा, अप्रशोधित सूचनाका भरमा धारणा निर्माण गरियो, सोही अनुरुप योजना बनाइयो भने ठूलो क्षति हुन्छ ।
मुलुक यतिबेला अन्यौलमा छ । अराजकता मौलाउँदो छ । भाँडभैलो र अस्तव्यस्तताको सङ्क्रमणबाट मुलुकलाई योजनाबद्ध, सार्थक, जनपक्षीय र लोकतान्त्रिक मार्गमा लैजान राज्यका हरेक क्षेत्रमा चिन्तनशील, देशभक्त, स्वप्नदर्शी नेतृत्व स्थापित हुन आवश्यक छ र यसका लागि अध्ययन संस्कृतिको विकास गर्न जरुरी छ । अध्ययन नगरी सफलता हासिल गर्न सकिँदैन भन्ने थाहा भए पनि मानिस अध्ययनका पक्षमा पछाडि पर्दछ । यदि ऊ सार्थक भविष्यको योजना बुन्दैन, थाहा पाएको छु अब भोलिबाट शुरुवात गर्ने हो भनी जय भोलिको अन्धभक्तले जालोमा पर्छ र उसको ढिला बुद्धि बङ्गारा आउँछ भने समय धेरै घर्किसकेको हुन्छ । त्यसैले समयमा नै अध्ययन र पठन संस्कृतिका बाधकहरुको पहिचान गरी तिनलाई पन्छाउँदै समुन्नत भविष्यका लागि अध्ययनका पाइलाहरुलाई आत्मसात गर्नु पर्दछ । अध्ययन गर्दाको समयमा पैसा नभएर अध्ययन नगरेको, घरपरिवारले राम्रो सहयोग नगरेको, साथीभाइले राम्रोसँग अध्ययन नगरेकोले नपढेको जस्ता बहानाबाजी गर्ने गरेको पाउन सकिन्छ ।
अध्ययन गरेपछि फाइदा आफूलाई मात्र हुन्छ भनी सामान्य बुझाइको कमीले पठन संस्कृतिको विकासमा टेवा पुग्न नसकेको हो । राजनीतिक अस्थिरताका कारण, सामाजिक उत्पीडन, भाषिक अकर्मण्यता, सांस्कृतिक विचलन, अन्याय र अत्याचारको श्रृंखलामा तड्पिइ रहेको अवस्थाबाट मुक्ति पाउनको लागि अध्ययन जरुरी छ र अध्ययन संस्कृतिका बाधकहरूलाई हटाएर अघि बढ्न आवश्यक छ । अध्ययनले हरेक क्षेत्रमा सहयोग गर्दछ । मानिसलाई राजनीतिक अधिकारको प्रयोग गर्दा अमूल्य मतदानलाई दुरुपयोग गरेको पाउन सकिन्छ । गलत र ठिक के हो भनी विश्लेषण र तर्क÷वितर्क गर्न अध्ययनको दायरालाई फराकिलो बनाउनु पर्दछ ।
पछिल्लो समय हाम्रो देशमा अध्ययन संस्कृतिमा डरलाग्दो स्खलन आएको छ भन्ने यथार्थ सार्वजनिक गर्नुपर्दा हामीलाई एकैसाथ पीडा र क्षोभको अनुभूति हुन्छ । कुनै बेला गहन अध्ययन, सूक्ष्म विश्लेषण, वस्तुनिष्ठ तार्किकता र अनुभवका आधारमा आफ्ना मान्यतालाई निरन्तर परिस्कार गरिन्थ्यो । कमरेड पुष्पलाल श्रेष्ठले त्यतिबेलाका त्यतिबिघ्न सीमाका बीचमा पनि स्वर्गको आगो चोर्ने देवता प्रमिथिसले जस्तै हामीकहाँ माक्र्सवादी आगो ल्याएर रोपे । पुष्पलालको जीवन अध्ययन, मनन र चिन्तनमै बित्यो । उनले कम्युनिष्ट घोषणापत्रको नेपालीमा पहिलो अनुवाद गरेका थिए । जननेता मदन भण्डारीले समाजवादी आन्दोलनले अभूतपूर्व धक्का खाइरहेको त्यस चुनौतीपूर्ण घडीमा माक्र्सवादको सिर्जनात्मक प्रयोगको त्यो युगीन दायित्व पूरा गरे ।
प्रारम्भिक अवस्थाको सुधारवादी प्रजातान्त्रिक आन्दोलनको गर्भबाट क्रान्तिकारी विकल्पको रूपमा नेपाली कम्युनिष्ट आन्दोलनलाई जन्माउने काम, उग्रवामपन्थता जडसूत्रवादको पिँजडाबाट आन्दोलनलाई बाहिर निकालेर यसलाई नेपाली अनुहार दिने एवम् नेपाली माटोमा खुट्टा टेकाउने काम कम्ती चुनौतीपूर्ण थिएनन् । तर, गहन अध्ययन र निष्ठापूर्ण व्यवहारको जगमा उभिएर उनीहरूले त्यो दायित्व पूरा गरे । मुलुक र मुलुकबाहिरका लेखकहरूका कृतिको गहन अध्ययन, सिर्जनात्मक सोच र निष्ठापूर्ण व्यवहार हरेक क्षेत्रमा नेतृत्व गर्नेलाई आवश्यक छ ।
नेपाली कांग्रेसका संस्थापक नेता मुलुकका प्रथम जनननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला अति अध्ययनशील थिए । जेलका कठिन घडीमा पनि उनी अध्ययनलाई निरन्तरता दिन्थे । बीपीले लेखेका जर्नल र चिठ्ठीहरुले उनी अध्ययनमा अति नै जोड दिन्थे भन्ने कुरा स्पष्ट हुन्छ । उनी एक चर्चित साहित्यकार पनि थिए । साँच्चै भन्ने हो भने बीपीको धेरै समय अध्ययन र लेखनमै बितेको थियो ।
श्रम संस्कृति र पठन संस्कृतिबाट मुलुकको साँचो विकास निसृत हुन्छ । तर, यतिबेला हाम्रो अध्ययन संस्कृतिमा साँच्चै नै डरलाग्दो गिरावट आएको छ । यदि नमूना सर्वेक्षणका रूपमा विगत एक वर्षमा पढेका महत्वपूर्ण पुस्तक या लेखेका कुनै राजनीतिक आलेख, कार्यपत्र, शोधपत्रको सूची या लिएका र दिएका प्रशिक्षणको विवरण बनाउने हो भने अध्ययन संस्कृतिको यथार्थ तस्वीर साम्नेमा आउनेछ । अध्ययन संस्कृति ओझेलमा पर्ने हो भने मुलुकमा योजनाबद्ध विकास, मुलुकको नयाँ कार्यदिशाको निर्माण र समतामूलक समाजको परिकल्पना र चिन्तनको खडेरी पर्छ । सरकारले पठन संस्कृति विकास गर्नको लागि स्थानीय तह तथा विद्यालयमा पुस्तकालय निर्माण गर्न बजेट विनियोजन गर्न र त्यसको उचित कार्यान्वयन गर्न आवश्यक छ ।
सतही ज्ञानले दीर्घकालीन सोचको अभाव र स्वार्थी, व्यक्तिकेन्द्रित भावनाको विकास गर्छ र यसले समाज, समुदाय, राज्यका कार्यभार ओझेलमा पर्छन् र मुलुकले सार्थक गोरेटो भेट्टाउँदैन । नेपालको संविधान २०७२ जारी भएको ९ वर्ष बिते पनि हामी सङ्क्रमणकालमा छौं । सङ्क्रमणकाल भन्नु नै पुराना मूल्य खण्डित भएको तर नयाँ विकास भइनसकेको, पुराना संरचना भत्किएको तर नयाँ उभिई नसकेको, पुराना उत्तर बासी भइसकेको तर नयाँ उत्तर सुनिश्चित भई नसकेको विशिष्ट अवस्था हो । गतिशील यथार्थले हाम्रासामु नित्य नयाँ प्रश्न तेस्र्याइरहेको छ । वर्ग सम्बन्ध बद्लिरहेका छन् । सामाजिक सम्बन्धमा नयाँ आयाम अगाडि आइरहेका छन् । मान्छेको मनोविज्ञान बदलिँदो छ । राज्य, दल, गैरराज्य पक्ष– सबैको भूमिकामा बद्लाव आइरहेको छ । साम्राज्यवादी उत्पीडनका रूप, अतिरिक्त मूल्यको दोहन, राष्ट्र–राष्ट्रबीचको सम्बन्ध– सबै क्षेत्रमा नयाँपन आइरहेको छ ।
राजनीति, शिक्षा, चिकित्सा हरेक क्षेत्रलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने चुनौती खडा छ । अन्यथा, नयाँ स्थितिसँग अनुकूलन हुन नसकेर कतिपय प्राणी विलुप्त भए जस्तै हाम्रा सोच र उद्देश्यहरुले क्षयीकरण, विघटन र विसर्जनको नियति भोग्न बाध्य हुनुपर्नेछ । सिर्जनात्मक ढङ्गले आजको सामाजिक यथार्थसँग जोडेर अघि बढ्न विश्वमा आएका परिवर्तनप्रति जागरुक हुनु जरुरी छ । यसका लागि हामीले अध्ययन संस्कृतिलाई पुनःजीवन दिनैपर्छ ।
पठन संस्कृतिले आलोचनात्मक चेत भएका जाग्रत मनुष्य निर्माणमा सहयोग गर्छ । श्रम संस्कृतिले अरुलाई सम्मान गर्ने मानिस तयार गर्छ । व्यवहारको आवश्यकतासँग जोडेर वैज्ञानिक सिद्धान्तको अध्ययन गर्ने, त्यसलाई सिर्जनात्मक ढंगले बुझ्ने र रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने पठन र श्रमसंस्कृतिलाई नयाँ ढङ्गले विकास गर्नैपर्छ । सामाजिक रूपान्तरण जनताको सचेत, जागरुक र सङ्गठित क्रियाशीलताका बलमा मात्रै सफल हुन्छ । अनि जनतालाई सचेत, जागरुक र सङ्गठित गर्न अभियन्ताहरू स्वयम् सचेत, जागरुक र सिर्जनशील हुनु अनिवार्य पूर्व शर्त हो भन्ने कुरा दोहो¥याइरहनु आवश्यक परेन ।
अध्ययनको भोक जगाउन र आजका प्रश्नको समुचित जवाफ खोज्न अध्ययनकर्मलाई थप व्यवस्थित बनाउन जरुरी छ । हरेक व्यक्तिले आफ्नो कार्य क्षेत्रको ठोस स्थितिको ठोस विश्लेषण गरेर मात्र सार्थक योगदान पु¥याउन सकिन्छ र यसका लागि अध्ययन संस्कृतिलाई बढावा दिन आवश्यक छ । अध्ययन नगरी आँखा खुल्दैन र श्रम नगरी मुलुकको अग्रगति सम्भव छैन । श्रम संस्कृतिप्रतिको सम्मान र पठन संस्कृतिप्रतिको आदरभावले मात्र मुलुकको साँचो विकास सम्भव छ । असल समाज निर्माण गर्न बुझेर काम गर्ने जनताको बाहुल्य हुन आवश्यक छ ।