आज माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथि । यस दिन विद्याकी देवी सरस्वतीको विशेष पूजा आराधना गरिन्छ । खासगरी विद्यालयहरुमा सृजना र ज्ञानकी देवी सरस्वतीको मूर्तिमा विद्यार्थी, शिक्षक तथा स्रष्टाहरुले निष्ठापूर्वक पूजा गर्छन् । शारदा, भारती, हंशवाहिनी, जगतमाता, बागीश्वरी, कौमारी, वरदायिनी, सिद्धदात्री, चन्द्रघण्टा, भूवनेश्वरी र बह्मचारिणी जस्ता नामबाट पनि पुकारिने देवी सरस्वतीका मन्दिरहरुमा समेत श्रद्धालुहरुको बाक्लो उपस्थिति रहन्छ । आजको दिन विवाह, ब्रतबन्ध, बेल विवाह लगायतका धार्मिक तथा शिक्षारम्भ, गृह निर्माण आदिमा साइत जुराउनु नपर्ने मान्यता समेत रहेको छ ।
वसन्त पञ्चमी समेत भनिने आजका दिनदेखि हिउँद समाप्त भएर वर्षाऋतु शुरु हुन्छ । खगोल शास्त्र अनुसार सूर्य क्रमशः उत्तरायण हुँदै जाने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ । वर्षा ऋतु प्रारम्भ भएसँगै हिजोको कठ्याङ्ग्रिने जाडो घट्दै गएर तापमान बढ्दै जान्छ । यसै दिनबाट ऋतुहरुको राजा वसन्तको आगमनको दूरी छोटिन थाल्छ र मुटु छेड्ने चिसोबाट क्रमशः मुक्ति पाइन्छ भन्ने मान्यता रहेको छ । वसन्त ऋतुको गर्भकाल रहेको मान्यता अनुरुप वसन्ती पञ्चमी भनिएको आजको दिनलाई श्री पञ्चमी पनि भनिन्छ । प्रकृति र ईश्वरको साझा प्रतीकका रुपमा रहेकी देवी सरस्वतीले सर्वसिद्धि प्रदान गर्छिन् भन्ने विश्वासमा मनाइने यो पर्व हिन्दू, बौद्ध लगायत सबैको साझा पर्व हो ।
ब्रह्मा, बिष्णु र शिव भगवानले समेत उपासना गर्ने देवी सरस्वतीलाई ज्ञान, सिप र कलाकी देवी मानेर पूजा गर्ने परम्परा छ । त्यसै अनुसार विद्यार्थीले मात्र होइन कवि, संगीतकार, वैज्ञानिक, गायक र कलाकार सबैले पूजा गर्छन् । भगवान श्रीकृष्णले सरस्वतीको जन्मदिन भएकाले विशेष उपासना गर्नु भनी आदेश दिएको यो दिनले हाम्रो अज्ञानता हटाओस् । अझ वैदिक सनातन हिन्दू संस्कारका उत्कृष्ट एवम् व्यावहािरक आयामहरु मध्येको एक आजको दिनले सद्बुद्धि दिनुपर्छ । प्रकृतिको पूजा गर्ने परम्पराभित्रैको वसन्त पञ्चमीले विश्वमै सद्भाव, हार्दिकता, प्रेम, भाइचारा बढाउन उत्प्रेरणा प्रदान गरोस् । सृजना, सकारात्मकताको बिरुवा झाङ्गियोस्, अन्धकाररुपी मन ज्ञानको ज्योतिले प्रकाशवान होस्, सरस्वती पूजाको शुभकामना ।