क्वालालम्पुर (मलेसिया) ।
झापा बिर्तामोड ५ का ९ वर्षीय आयुर ढकालले मलेसियामा सम्पन्न १२ औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
मलेसियाको क्वालालम्पुरमा सोमबार भएको च्याम्पियनसिपमा आयुरको स्वर्णसहित नेपालले ७ पदक जितेको छ । नेपालले तेक्वान्दो अन्तर्गत पुम्सेमा स्वर्ण जितेको हो । नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका आयुरले ९ देखि ११ वर्ष उमेर समूहमा स्वर्ण जितेको हाल मलेसियामा रहेका कोच दिपेन धिमालले पूर्वाञ्चललाई बताए ।
आयुर बिर्तामोडका व्यवसायी राजु ढकाल तथा सरिता नेपाल ढकालका छोरा हुन् । उनी सेन्ट जेभियर्समा कक्षा ४ मा अध्ययनरत् छन् । अष्ट्रेलिया, हङकङलाई हराउदै अघि बढेका आयुरले फाइनलमा मलेसियालाई पराजित गरेका हुन् ।
आयुरले झापाको मेची तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् । उक्त डोजाङको कोच धिमाल हुन् । आफ्नो डोजाङको शिष्यले अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जितेकोमा अत्यन्त हर्षित रहेको बताउँदै कोच धिमालले भने आयुर अत्यन्त मिहनेती र प्रतिभाशाली छन् । आयुर ढकालसंगै दिक्षान्त लामिछानेले पनि स्वर्ण पदक जितेका छन् । उनले पनि पुम्सेमा स्वर्ण जितेका हुन् । दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन् । दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।
त्यस्तै झापा अर्जुनधारा ६ का ११ वर्षीय लिरिक फँुयालले उक्त प्रतियोगितामा कास्य पदक जितेका छन् । कोच धिमाल आयुर र लिरिकलाई साथमा लिएर मलेसिया पुगेका थिए । बाल्मिकी एजुकेशन फाउण्डेशन कक्षा ५ मा अध्ययनरत् लिरिकले पनि तेक्वान्दो अन्तर्गत पुम्सेमा सिंगापुरलाई पराजित गर्दै कास्य हात पारेका हुन् । उनी समीर र ऋचा फुँयालका छोरा हुन् । उनले १० देखि १२ वर्ष उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए ।
त्यस्तै रिप्सना घिमिरे ग्यारोगीतर्फ महिला ४१ केजीभन्दा कम तौल समूहमा रजत जित्न सफल भएकी छन् । अर्को रजत भने द सेलिब्रेसन को–एडका जेमोस मगरले जिते । उनले पुम्से ९ वर्ष भन्दा कम उमेर समूहमा उक्त सफलता हात पारेका हुन् ।
ग्यारोगीतर्फ सिनियर पुरुषमा ५८ केजी तौल समूहमा राकेश सापकोटाले रजत पदक जिते भने फाइटतर्फ नै असिम श्रेष्ठले ३७ केजीभन्दा कम तौल समूहमा कास्य पदक जिते । प्रतियोगिता यही फेब्रुअरी ६ देखि ८ सम्म भएको थियो । उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेका थिए ।