अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन”ले गरेका थिए ।
वार्षिकोत्सव अन्र्तगत विभिन्न छात्रवृत्ति वितरण, हालै सम्पन्न १५औं नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार वितरण, शिक्षक, प्रशिक्षक एवम् दाता सम्मान, वर्ष शिक्षक र कर्मचारी सम्मान, सेवानिवृत्त शिक्षक विदाइलगायतको कार्यक्रम सञ्चालन गरिएको शिक्षक कपिलदेव तिम्सिनाले जानकारी दिए ।
जसअनुसार वितरण गरिएको छात्रवृत्तितर्फ छत्र थापा स्मृति पुरस्कार, लोकनाथ–हेमकला पुरस्कार, खगेन्द्र–विभा पुरस्कार, विषजु सेमन्ता अक्षयकोष, रुद्र तोरण स्मृति पुरस्कार, हरिविलास वन स्मृति अक्षयकोष रहेका छन् ।
त्यसैगरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार क्रमश तीन हजार, दुई हजार र एक हजार प्रदान गरिएको थियो । त्यस्तै वर्ष शिक्षकतर्फ तिलचन अधिकारी र सुजन राना, वर्ष कर्मचारीतर्फ सुरक्षा गार्ड जगतबहादुर मोक्तान, खेलकुद शिक्षकतर्फ भवानीप्रसाद गौतम र शिव गौतम, विभिन्न खेलकुद विधातर्फ एथलेटिक्सका प्रशिक्षकद्वय राजिप ढुंगाना र हेमनारायण चौधरी, उसु प्रशिक्षकद्वय पूजा खवास र रीचा श्रेष्ठ, कराते प्रशिक्षक जीवन राई, तेक्वान्दो प्रशिक्षकत्रय दीपेन्द्र दनुवार, लक्ष्मी राजवंशी र विवेक गिरी सम्मानित भएका छन् ।
यता विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने दाताहरु इनरव्हील क्लब अफ अर्जुनधारा, अर्जुनधारा–३स्थित रोज बर्ड इङलिस बोर्डीङ स्कूल, अर्जुनधारा–८ स्थित नारी चेतना समूह, अर्जुनधारा–७ निवासी अविनाश मैनाली, अर्जुनधारा–८ निवासी खगेन्द्र गुरुङ, अर्जुनधारा–९ निवासी सुजन खरेल र बिर्तामोड–५ निवासी बालकृष्ण रिमाल सम्मानित भएका छन् ।
त्यसैगरी कार्यक्रममा सेवानिवृत्त शिक्षकद्वय भीम नेपाल र रोहीत खपाङ्गीलाई विदाइ गरिएको थियो । सोही कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार एवम् वृत्तिविकासमा लगानी गर्ने गरि “जन्मदिन विशेष कोष”को स्थापना भएको घोषणा गरिएको छ । प्रधानाध्यापक विनोदकुमार गौतमका छोरा सिद्धान्त गौतमले आफ्नो जन्मोत्सवको सन्दर्भमा सोही दिन नगद १० हजार रुपैयाँ सहयोग प्रदान गर्दै उक्त कोषको उद्घाटन गरेको छ ।
पूर्व विद्यार्थी एवम् सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख डीआईजी शम्भु सुवेदीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
प्रधानाध्यापक गौतमले विद्यालयको वार्षिक प्रतिवेदनसहित एवम् स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक तिम्सिनाले गरेका थिए ।