कमल ।
सामान्यतया विद्यालयको वार्षिकोत्सव भन्नासाथ गायन, नृत्य र कविता वाचन गरेर सम्पन्न हुने गर्दथ्यो । तर, झापाको कमल गाउँपालिका ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलको प्राङ्गणमा पुग्दा कोई कसैले पनि विद्यालयको वार्षिकोत्सव होला भनेर कल्पना समेत गर्न सक्ने अवस्था थिएन ।
विद्यालयमा रहेको प्राङ्गणको वरिपरि विभिन्न किसिमका स्टल राखिएको थियो, जसमा लोप हुदै गरेका ठेकी, हर्पे, भुर्लुङ ,मदानी,टुकी बत्ती, चुलो, चिण्डो लगायतका सयौँ सामाग्री थिए भने कुनै स्टलमा विद्यार्थी आफैले बनाएका विभिन्न सामाग्रीले स्टल भरिभराउ थियो । नेति मात्र कहाँ हो र घरमा बा आमा लाई घुक्र्याई घुक्र्याई खाना खान बनि परेका विद्यार्थी यहाँ आफै नास्ता बनाएर अरुलाई खुवाउँदै थिए । यो दृश्य हेर्दा लाथ्यो की विद्यालयको वार्षिक उत्सव नभएर कुनै प्रदर्शनीका लागी राखिएको मेला हो ।
वभिन्न विद्यालयबाट विद्यार्थी आएकोले एक अर्काका अनुभव आदान प्रदान गर्न कुनै विद्यार्थी व्यस्त देखिन्थे भने कुनै विद्यार्थी आफूले बनाएको वस्तुको वर्णन गर्नमा व्यस्त थिए । विद्यालयको प्राङ्गणमा सम्पन्न ‘स्मारिका उत्सव’ मा कमल गाउँपालिका साथै झापा, मोरङ्ग र सुनसरीका ४५ वटा विद्यालयका तीन हजार पाँच सय विद्यार्थी तथा अभिभावक र स्थानीयवासी, सुरक्षाकर्मीसहित करिव पााँच हजार जनाले कार्यक्रमको अवलोकन गरेको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए । मन्त्री राईले कार्यक्रम अवलोकन पछि अबको शिक्षा भनेको व्यवहारिक र प्रविधिमैत्री हुनुपर्छ, आफ्नो माटो सुहाउँदो पाठ्यक्रम निर्माण गरी विद्यार्थी कमाउदै पढ्दै गर्ने वातावरण सहितको शिक्षा दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।
कोशी प्रदेश सभासद होमबहादुर थापाले आज निजी क्षेत्रका विद्यालयले शिक्षाको विकासका लागी जुन योगदान गर्नु भएको छ त्यो अत्यन्तै महत्वपूर्ण रहेको भन्दै अबको शिक्षा भनेको सैद्धान्तिक मात्र नभएर प्राविधिक र व्यावहारिक शिक्षा हुनुपर्नेमा जोड दिए ।
कमल गाउँपालिका प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका भएको र यस पालिकामा रहेका संस्थागत विद्यालयले पालिकाको शैक्षिक उन्नयन लागि महत्वपुण कार्य गरेको भन्दै उपाध्यक्ष प्रमिला न्यौपानेले विद्यालय परिवारलाई धन्यवाद दिईन् ।
कमल गाउँपालिका ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलल १५ औं वार्षिकोत्सव ‘स्मारिका उत्सव’ फरक तरिकाले मनाएको हो । शिक्षा मात्र होइन, मनोरञ्जन गर्दै सिकेको कुरालाई सहज रुपले भोलीका दिनमा विद्यार्थीले जीवनमा प्रयोगमा ल्याउन सक्ने स्मारिका सामुदायिक वोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल गुणराज गिरीले बताए ।
विद्यालयको प्राङ्गणमा आयोजना गरिएको ‘स्मारिका उत्सव’ ले विद्यार्थीहरूलाई व्यवहारिक तथा अनुभव–आधारित सिकाइको अवसर प्रदान गरेको छ । यस्ता उत्सवले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न सक्षम बनाउनुका साथै कला, हस्तकला, कृषि, विज्ञान, स्काउटिङ, खेलकुद, उद्यमशीलता तथा सांस्कृतिक सम्पदा संरक्षण जस्ता विविध क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्न महत्वपुण भुमिका खेल्ले जनााइएको छ ।
त्यस्तै अन्तर विषयगत, बहुविषयगत तथा समावेशी पाठ्यक्रम एकीकरणको अवधारणामा आधारित स्मारिका उत्सवले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनमा लागू गर्दै शिक्षा प्रणालीलाई एकीकृत र परस्पर जोड्ने वातावरण सिर्जना गर्दछ भने विद्यार्थीहरूलाई सन्चार, सहकार्य, समस्या समाधान, नेतृत्व क्षमता तथा सिर्जनात्मकता जस्ता जीवनोपयोगी सीपहरूलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बतााइएको छ ।