झापा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाबाट नेपाली विशेषताको समाजवाद स्थापनाका लागि जनजागरण मार्च झापाबाट शुरु गर्ने भएको छ ।
आगामी चैत १२ गते झापाको मेची नदीबाट जनजागरण मार्चको शुरु गरिने र त्यसको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्ने भएका हुन् । लोकतन्त्र र गणतन्त्रका विषयमा जनमानसमा व्यापक असन्तुष्टि बढेको निष्कर्षसहित पार्टीले प्रतिगमनको खतरा बढ्न सक्ने जनाउँदै अभियान शुरु गर्न लागेको बताइएको छ ।
नागरिकमा लोकतन्त्र र गणतन्त्रका विषयमा अन्यौल कायम रहेकाले देशी विदेशी शक्तिले चलखेल गर्न सक्ने हुँदा नेपाली समाजलाई विकल्प दिन समाजबाद स्थापना अनिवार्य रहेको र त्यसको पक्षमा माहोल बनाउन अपिलसहितको कार्यक्रम आयोजना गरिएको पार्टीका झापा इञ्चार्ज सुमन सिंह सिले बताए ।
कञ्चनपुरसम्म पुग्ने अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले झापामा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने भएका छन् ।
यस क्रममा ३ देखि ६ गतेसम्म झापाका अगुवा वामपन्थी नेता तथा कार्यकर्ता,व्यवसायी, वुद्धिजीवी, पत्रकार, शहीद परिवार, पूर्व जनमुक्ति सेना, घाइते अपाङ्ग योद्धा, समाजवादी मोर्चाका नेता तथा कार्यकर्तासँग विचार विमर्श गरिने कार्यक्रम तय भएको सुमन सिले बताएका छन् ।
त्यस्तै मेचीपारिको वस्तीमा पुगेर त्यहाँको वस्तुस्थिति, सीमाको अवस्था अवलोकनसंगै स्थानीयवासीसंग छलफल समेत गरिने कार्यक्रम रहेको बताइएको छ । १२ गते बिर्तामोडस्थित सिटी सेन्टरमा कार्यक्रमको आयोजन गरिएको बताइएको छ ।