शिवसताक्षीको शिक्षामा अनुकरणीय अभ्यास: दिक्तेलको अवलोकन सम्पन्न

0
182

विनोद सापकोटा,शिवसताक्षी

शिवसताक्षी नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका ३३ जना प्रधानाध्यापकको टोली खोटाङ र भोजपुर जिल्लामा तीन दिने शैक्षिक अवलोकन भ्रमणमा छ । भ्रमणको आज अर्थात मंगलबार अन्तिम दिन हो ।

शिवसताक्षी नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको यो भ्रमणले सहभागीहरूमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नयाँ ऊर्जा र दृष्टिकोण प्राप्त भएको भ्रमणमा रहेका सहभागि एक प्रधानअध्यापक ले बताए ।

भ्रमणको पहिलो दिन झापाबाट प्रस्थान गरेको टोलीले धार्मिक, सांस्कृतिक तथा आत्मिक शुद्धिकरणका लागि प्रसिद्ध हलेसी महादेवको दर्शन गरेको थियो । त्यसपछि टोली खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल पुगेर विश्राम गर्यो ।

दोस्रो दिनको प्रमुख गन्तव्य थियो दिक्तेल बजारस्थित नमुना विद्यालय श्री सरस्वती माध्यमिक विद्यालय । टोलीले सो विद्यालयको समग्र शैक्षिक, व्यवस्थापकीय, भौतिक तथा व्यावहारिक पक्षको गहिरो अवलोकन गर्नुका साथै शिक्षक–शिक्षिकासँग अन्तरक्रिया पनि गर्यो ।

विद्यालयमा कक्षा १ देखि १२ सम्मका करिब १ हजार १ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये करिब ४ सय विद्यार्थी डेरा गरी अभिभावकसहित दिक्तेलमा बसेका भेटिए । उनिहरु खोटाङका दुरदराजका गाउँ सहित सोलुखुम्बु, ओखलढुङा र उदयपुर जिल्लाका हुन् । सो विद्यालयमा कक्षा ११ र १२ मा मात्र २५० जना विद्यार्थी अध्ययनरत छन् ।

लोकसेवा आयोगको कार्यालय विद्यालय नजिकै भएकाले पनि यहाँको विद्यार्थीमा सरकारी सेवा प्रवेशको अभिप्रेरणा उच्च रहेको रहेछ । भानु माध्यमिक विद्यालय लालझोडाका प्रधानाध्यापक डाम कुमार कुँवरले भने, ‘दिक्तेल बजार क्षेत्रमा एक घरमा कम्तीमा एकजना निजामती कर्मचारी भेटिन्छ । लोकसेवा आयोग नजिक भएकाले विद्यार्थीहरूमा पनि जागिरे बन्ने चेतना प्रस्ट देखिदो रहेछ ।’

नमुना सरस्वती माविले विषयगत इन्चार्ज प्रणाली, शुद्ध व्यवस्थापन, सफा संरचना, अनुशासित विद्यार्थी र अध्यापनमा सक्रिय शिक्षकहरूले शिवसताक्षीका प्रधानाध्यापकलाई विशेष रूपमा प्रभावित बनायो । ‘शिक्षकहरूलाई प्रशासन, लेखा, अनुशासन, विषयगत पाठ्यपुस्तक लगायतका जिम्मेवारी दिइएको पद्धतिले विद्यालय सञ्चालनमा पारदर्शिता र जवाफदेहिता थपेको हामीले पायौ,’ प्रधानाध्यापक कुवँरले भने ।

नेपाल शिक्षक महासङघ शिवसताक्षी नगरका अध्यक्ष तथा बालसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक बेनु कार्कीले भने, ‘हाम्रो पालिकामा हामीले विद्यालय क्यान्टिनबाट विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँछौँ तर दिक्तेलमा विद्यार्थीलाई नगद भत्ता दिइएको पाईयो । अर्को फरक त यो रहेछ कि नेपाल सरकारले प्रधानाध्यापकलाई दिने मासिक भत्तामा त्यति नै रकम थप गरेर पालिकाले थप हौसला दिएको रहेछ । यो अभ्यास साँच्चै सराहनीय छ ।’

टोलीले दिक्तेलकै निजी संस्था सुगम फाउन्डेसनको समेत अवलोकन ग¥यो । जहाँ धान रोपाइँ, तरकारी खेती, सिलाई कटाई, मोटरसाइकल मर्मतजस्ता व्यावसायिक, व्यवहारिक र प्राविधिक शिक्षा दिइँदै आएको छ । झिलझिले माविका प्रधानाध्यापक खेम निरौलाले भने, ‘सहरका बालबालिकाले अब खेत गरा चिन्न सक्दैनन् । यस्ता व्यावहारिक कक्षाले उनीहरूलाई जीवनसँग गाँसिएको शिक्षा दिन्छ । यो अभ्यास हामी पनि गर्न सकछौं ।’
भ्रमणको दोस्रो रात टोली भोजपुर सदरमुकाम पुगेर बास बस्यो । त्यहाँको भौतिक पूर्वाधार, विद्यालय क्षेत्र तथा खेलमैदानको समेत अवलोकन गर्यो । तेस्रो दिन टोली कार्यक्षेत्र फर्कने तालिकामा रहेको भ्रमणमा सहभागी एक शिक्षकले जानकारी दिए ।

अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक तारा लावतीले भनिन्, ‘हाम्रा विद्यालयका पूर्वाधार कमजोर छैनन् तर दिक्तेल नगरपालिकाले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण भने फरक भएको पायौं ।’ उनीहरूले शिक्षामा देखाएको लगाव, शिक्षकको मनोबल वृद्धि, बजेट परिचालन सबै अनुकरणीय छ । हाम्रो पालिकाले पनि यस्ता अभ्यासबाट धेरै कुरा सिक्न सक्नुपर्छ ।’

शिक्षा सुधारको दिशामा यो भ्रमण एउटा बहुमूल्य अभ्यास बनेको सहभागीहरूको साझा धारणा छ । सरस्वती माविको अभ्यासलाई आत्मसात गर्दै शिवसताक्षीका विद्यालयहरूले पनि नयाँ योजना र कार्यान्वयनमार्फत गुणस्तरीय शिक्षा प्रवाह गर्न सक्ने आशा गरिएको छ ।

शिवसताक्षी नगरका शिक्षा, युवा तथा खेलकुद शाखाकाा प्रमुख समेत रहेका नगर शिक्षा अधिकारी छवि ढकालले यसअघि हामीले इलाम र धनकुटाका सामुदायिक विद्यालयको अध्ययन अवलोकनका लागि पठाएको बताए । ‘यो पटक खोटाङ र भोजपुरका लागि कार्यक्रम बनाएका थिर्यौ,’ उनलेभने यो भ्रमण पनि निक्कै उपलब्धी मुलक भएको पालिकाले ठानेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here