नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला पर्न थालेका छन् । मनसुन बढेसँगै देखिने डेंगीबाट बच्न सतर्कता अपनाउनुपर्ने विज्ञहरुको भनाइ छ । सचेतता नअपनाएको खण्डमा जटिल अवस्था निम्तिन सक्ने भन्दै सतर्कता अपनाएर डेंगीबाट जोगिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार अहिले देशका विभिन्न जिल्लामा प्रति साता औसतमा चालीस जना संक्रमित फेला परेका छन् । स्वास्थ्य संस्थाहरुमा पुगेका बिरामीबाट संकलित विवरणबाट यस्तो तथ्यांक देखिएको महाशाखाको भनाइ छ । विगतमा पनि डेंगी संक्रमणको महामारी फैलिएको थियो । अहिले पन्ध्र दिनअघि शुरु भएको मनसुनसँगै डेंगीका संक्रमित देखिएको र यसको जोखिम कायम रहेको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार गत जनवरी १ देखि एक हप्ताको अवधिमा एक हजार दुई सय पचपन्न जना डेंगी संक्रमित फेला परेका थिए । स्वास्थ्य संस्थामा परीक्षण गरिएको मध्ये पहिचान भएकामा काठमाडौंका सबैभन्दा धेरै संक्रमित रहेको तथ्यांक छ । देशका ७२ वटा जिल्लामा फैलिएको डेंगी नियन्त्रण गर्न डेंगीको कारक लामखुट्टे सखाप पार्न नसकिए यसले फेरि महामारीको रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
असारदेखि भदौसम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । यो विश्वभर देखिने आमसमस्या हो । एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने भाइरल संक्रमण हो । लामखुट्टेले टोक्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने लगायतका लक्षण देखिन्छ । संक्रमण जटिल हुँदै जाँदा फोक्सो, कलेजो र मुटुलाई असर गर्न सक्छ । रक्तचाप घटेर बिरामीको मृत्यु हुनसक्छ । खास उपचार नभएको डेंगीको संक्रमण र मृत्युदर घटाउन सरोकारवाला निकाय र संस्थाको समन्वय आवश्यक हुन्छ । यसका लागि तीनवटै तहका सरकारले डेंगी नियन्त्रण सम्बन्धी कार्यक्रम ल्याउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न शरीर ढाकेर लुगा लगाउने, घर वरिपरिका खाल्डाखुल्डी पुर्ने भाँडाकुँडामा पानी जम्न नदिने, सुत्दा झुल प्रयोग गर्ने जस्ता उपायले डेंगी नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि सरकारी, गैरसरकारी संस्था, स्थानीय सरकार र समुदायका बीच पनि समन्वय हुनुपर्छ । यस्तो नभए डेंगीले फेरि पनि महामारीको रुप लिन सक्छ ।