माई , इलामको माई नगरपालिका–२ मा विद्युत महसुल काउन्टरको औपचारिक उद्घाटन गरिएको छ ।
माई नगरपालिका प्रमुख खम्ब सिं लिम्बू र नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र कोशीका प्रमुख राजिवकुमार सिहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
काउन्टरको सञ्चालनसँगै माई नगरपालिका, माङसेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका करिब १५ हजार घरधुरी लाभान्वित हुने प्राधिकरणले विश्वास लिएको छ । विगत धेरै वर्षदेखि स्थानीय बासिन्दाहरू महसुल तिर्न माई क्षेत्रबाट इलाम वा अन्य स्थान पुग्नुपर्ने बाध्यता थियो । समय, खर्च र असुविधाका कारण स्थानमै महसुल तिर्ने व्यवस्था गरिदिनुपर्ने माग स्थानीयले राख्दै आएका थिए । विद्युत महसुल संकलन गरेर नतिर्दा विगतमा नगरबासीहरुले जरिवाना समेत तिर्नुपरेको थियो ।
माई नगरपालिकाको पहल र विद्युत प्राधिकरणको सहकार्यमा यो सुविधा सुरु गरिएको हो । कार्यक्रममा बोल्दै माई नगर प्रमुख खम्ब सिं लिम्बूले विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि आफूले भोग्नुपरेको कठिनाई सम्झिएका थिए । उनले. “विद्युतको काम गर्दा म आफैंमाथि मुद्दा लाग्यो, धरौटीमा रिहा हुनुपर्यो । तर पनि जनताको घर घरमा विद्युत आपुर्ति गराउन सफल भएका छौ । ’
उनले नगरकै विकट क्षेत्र माई–८ को लोसे र मैनाचुलीका बासिन्दालाई समेत विद्युतको सुविधा पुर्याउन सकेको बताए । नगरप्रमुख लिम्बूले माई नगरपालिकाले महसुल काउन्टर स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराएको उल्लेख गर्दै प्राधिकरणसँग लागत साझेदारीमा भवन निर्माण गर्न समेत तयार रहेको बताए । उनले पछिल्लो समय विद्युतीय सवारीसाधन को प्रयोग बढेकाले माईमा चार्जिङ स्टेसन निर्माण अपरिहार्य भएको धारणा व्यक्त गरे ।
नेपाल विद्युत प्राधिकरण कोशीका प्रमुख राजिव कुमार सिंहले माई नगर क्षेत्रमा विद्युत सेवा सुधार गर्ने उद्देश्यका साथ आफू गम्भीर रूपमा लागिपरेको बताए । उनले – “म एक महिनाअघि मात्रै क्षेत्रीय प्रमुख भएर आएको हुँ। तर माई नगर क्षेत्रमा सब–स्टेसन निर्माण गरी दीर्घकालीन समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सिंहले अनारमनी वितरण केन्द्रको प्रमुख रहँदै आसपासका विद्युत क्षेत्रमा अग्रसर रहेको उल्लेख गर्दै, प्राधिकरणले आवश्यक प्राविधिक योजना अगाडि बढाउने जानकारी दिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण इलाम प्रमुख बिजुली प्रसाद यादवले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा माई नगर क्षेत्रमा सब–स्टेसन निर्माण हुने जानकारी गराए । “सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको छ, अब चाँडै टेन्डर प्रक्रियासमेत सुरु हुनेछ,” उनले बताए । यादवका अनुसार, माई नगरदेखि रक्सेसम्म करिब १ सय किलोमिटर लामो फिडर रहेको र सो फिडरमा सानो समस्याले पनि सम्पूर्ण क्षेत्रमा विद्युत अवरुद्ध हुने गरेको छ । “सब–स्टेसन बनेपछि छोटा–छोटा फिडर बनाइनेछ, त्यससपछि अपेक्षित रूपमा नियमित विद्युत आपूर्ति सम्भव हुनेछ ।”
महसुल काउन्टर स्थापनासँगै अब स्थानीयले विद्युत महसुल सजिलै तिर्ने सुविधा पाउने छन् । कार्यक्रममा माई नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, स्थानीयबासिन्दा, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।