ताप्लेजुङ,
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालय, शिक्षक, व्यवस्थापन समिति, स्रोत शिक्षक तथा विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो ।
‘स्टार स्कुल अवार्ड’अन्तर्गत लुङथुङ आधारभूत विद्यालयलाई रु ३० हजारसहित सम्मान गरिएको छ । ‘बेस्ट परफर्मिङ स्कुल अवार्ड’ सरस्वती मावि तापेथोक र रानी आधारभूत विद्यालयलाई रु ४५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको हो । यस्तै एसइई परीक्षामा सतप्रतिशत नजिता ल्याउने सरस्वती मावि तापेथोकलाई रु ३० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको रिडका जिल्ला कार्यक्रम प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिकाइ उपलब्धिमा योगदान दिएका १३ शिक्षक र ३८ जना उत्कृष्ट विद्यार्थीलाई पनि वर्षभरिको सिकाइ उपलब्धिका आधारमा सम्मान गरिएको छ । रिड नेपालले विसं २०७० देखि विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको छ । प्रत्येक वर्ष वितरण हुने पुरस्कारका लागि प्रतिवर्ष रु तीन लाख खर्च हुने रिडका जिल्ला कार्यक्रम प्रबन्धक पन्तले जानकारी दिनुभयो ।