शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया

0
24

सुरुङ्गा ।

कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले कनकाई नगरपालिकाको सभाहलमा उदघाटन गरेको कार्यक्रममा नगर शिक्षा प्रमुख राजकुमार ओडारीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए ।

शिक्षा अधिकृत ओडारीले माध्यमिक शिक्षाको अधिकार स्थानीय सरकारको मातहतमा रहेकाले माध्यमिक शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताए ।

सरोकारवाला सबै हृदयदेखि लाग्ने हो भने शिक्षा क्षेत्रमा रुपान्तरण सम्भव रहेको शिक्षा अधिकृत ओडारीको जोड थियो । कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गुणस्तरीय शिक्षाका लागि नगरले योजना बनाइरहेको र कनकाई नगरपालिकालाई शैक्षिक हब बनाउने अभियानलाई अघि बढाइएको बताए ।

मेयर पोखरेलले कनकाई नगर बन्द निषेधित शान्ति क्षेत्र भएकाले शैक्षिक हब बनाउने लक्ष्य पुरा गर्न सहज हुने बताए । नगर प्रमुख पोखरेलले सामुदायिक विद्यालयका कक्षाकोठा प्रविधिमैत्रीयुक्त बनाउने लक्ष्यका लागि लगानी बढाउँदै जाने प्रतिबद्धता जनाएका थिए ।

सो कार्यक्रममा चम्पापुर माविका सहायक प्रधानाध्यापक एवम् नगरको दश वर्षे शैक्षिक सुधार योजनाका मस्यौदाकार रुद्रबहादुर थापाले हालै सम्पन्न इलामको सूर्योदय नगरपालिकाको शैक्षिक अवलोकन भ्रमणको विवरणात्मक एवम् विश्लेषणात्मक समीक्षा प्रस्तुत गरेका थिए ।

नगर शिक्षा योजना मस्यौदा लेखन समितिका संयोजक योन्देन सुनुवारले ‘गुणस्तरीय शिक्षाका लागि हामी सुधार गर्छौँ कनकाई नगरको शिक्षा’ लाई भन्ने नारा समेटिएको १६ बुँदे सामूहिक प्रतिबद्धता प्रस्तुत गरेका थिए । शैक्षिक वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सम्बन्धमा समीक्षा गरिएको थियो ।

कार्यक्रममा कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, चम्पापुर माविका विज्ञान शिक्षक सुमन सिटौला, कन्काई माविका विज्ञान कार्यक्रम संयोजक साजनकुमार लिम्बू, कनकाई नगरपालिका वार्ड नं. २ का वडा अध्यक्ष बलराम राई (प्रताप), नगर शिक्षा समिति सदस्य अखिलकुमार कोइराला, भगवती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठक, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका वि.व्य.स.अध्यक्ष चन्द्रमोहन उप्रेती, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष चन्द्रप्रसाद पोखरेलले आआफ्ना विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका सामाजिक समितिका संयोजक नबलकिशोर दत्त, शिक्षाविद् डा. पुण्यप्रसाद पौडेल, प्याब्सन कनकाई नगर अध्यक्ष विनोदकुमार उप्रेती, वडा अध्यक्षहरु लक्ष्मीप्रसाद ओली, लीलाबहादुर कटुवाल, सुशील पोखरेल, भीष्मभूषण सिटौला, नेपाल शिक्षक महासंघ कनकाई नगर सचिव निर्मलकुमार खनाल, कार्यपालिका सदस्य सावित्रा बर्देवा, शिक्षा शाखाका प्राविधिक सहायक रोहित पौडेल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नगर अध्यक्ष पुण्यप्रसाद ओझा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नगर शिक्षा योजना मस्यौदा लेखन समितिका सदस्य एवम् कन्काई माविका नेपाली विषय शिक्षक भीमप्रसाद दाहालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here