कोभिडको त्रास फेरि बढ्दै

0
18

वैश्विक महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट मुक्त हुन नपाइ त्यसकै त्रास फेरि बढेको छ । पछिल्लो समय नेपालम कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिएपछि सीमानाकामा निगरानी बढाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार गत पुस १७ गतेदेखि यही असार १९ गतेसम्म नेपालका एकतीस जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ । हालसम्म दुई सय उनन्चास जनामा कोभिडको संक्रमण पुष्टि भएको उक्त महाशाखाले जनाएको छ । पछिल्लो एक हप्तामै पैंतीस जनामा संक्रमण देखिएको छ भने कोभिडकै कारण एकजनाको मृत्यु पनि भइसकेको छ ।

एक शताब्दीमा एक पटक देखा पर्दै आएको विश्वव्यापी महामारीलाई प्रभावकारी नियन्त्रण गर्न चुनौती रहँदै आएको छ । यसअघि मानव जीवन र स्वास्थ्यमा ठूलो क्षति पु¥याएर विश्वकै आर्थिक विकास एवम् स्थिरतामा प्रभाव पारेको कोभिड फेरि देखिनुले विकास ढाँचा र सुरक्षामा समेत असरपर्ने देखिएको छ । सन् २०२२ को अन्त्यसम्ममा विश्वका छैसठ्ठी लाखभन्दा बढी मानिसको ज्यान लिएको कोभिड महामारीबिरुद्ध विश्व नै लाग्नुपर्ने अवस्था फेरि आएको छ । खुल्ला सीमाना भएका कारण कोभिडको विस्तार ज्यादै छिटो हुनसक्ने यथार्थलाई ध्यान दिई सजगता अपनाउन ढिलो गर्नुहुँदैन । हाल विस्तार हुँदै गएको संक्रमण नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सत्र सीमानाका हेल्थ डेस्क सञ्चालन गर्न थालेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।

श्वास–प्रश्वासको माध्यमबाट सर्ने कोभिड–१९ को परीक्षण हेल्थ डेस्कमै परीक्षण गर्न थालिएको छ । संक्रमण पुष्टि भएको खण्डमा एकान्तबास लगायतका उपचारात्मक उपाय अपनाउनुको विकल्प छैन । रोग लागेर उपचारमा जानुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । तसर्थ मास्क लगाउने, साबुनपानीले हात हुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता मापदण्ड अपनाउनु सजगता हो । विगतमा अत्यन्त पीडादायी भएको कोभिडको संक्रमण र अवस्थालाई मध्यनगर गर्दै स्वयम् सचेत हुन जरुरी छ । यसबाट मात्रै महामारीजन्य विपद्को त्रासबाट मुक्ति पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here