युवालाई कुलतबाट जोगाउन ‘ब्रान्डेड ट्र्याक सुट’

0
515

झिलझिले ।

शिवसताक्षी नगरपालिका वडा नं ८ स्थित गुराँस चोकमा भलिबलप्रेमी युवाहरूलाई कुलत र कुबाटोबाट जोगाउन हङकङमा रहेका एक नेपाली युवाले प्रेरणादायी काम गरेका छन्।

२५ वर्षदेखि हङकङमा बस्दै आएका तुलाहाङ लिम्बूले आफ्नो जन्मथलोका युवाहरूलाई खेलकुदमा सक्रिय गराउने उद्देश्यले ब्रान्डेड ट्रयाकसुट उपहार स्वरूप पठाएका हुन्। गुराँस चोकमा सक्रिय ‘गोर्खाली स्पोर्टिङ क्लब’ का खेलाडीलाई उनले दुई सेट ब्रान्डेड ट्रयाकसुट प्रदान गरेका छन्।

यिनै खेलाडीहरू बिहान(बेलुका गाउँमै पर्ने पगरी टोलमा नियमित रूपमा भलिबल अभ्यास गर्दै आएका छन्। उनले भने, “गाउँका केटाकेटीहरू फुर्सदको समयमा खेलकुदमा लागे भने कुलतबाट बच्न सक्नेछन्। त्यो नै मेरो मूल उद्देश्य हो।”

गाउँमा बसोबास गर्ने अधिकांश युवा भलिबलप्रति आकर्षित छन्। तुलाहाङ स्वयं पनि एक समय भलिबल खेलाडी थिए। गत वर्ष पनि लिम्बुले प्रायोजन गरेको अन्तरक्लब भलिबल प्रतियोगिता भव्य रूपमा सफल भएको थियो। सो प्रतियोगिताको प्रथम पुरस्कारको लागि सबैभन्दा धेरै रकम उनले नै सहयोग गरेका थिए। यस पटक ट्रयाकसुटमार्फत उनले आफ्ना गाउँका युवालाई व्यावसायिक खेलकुदतर्फ प्रेरित गर्न खोजेका छन्।

उनका अनुसार उनले पठाएको ट्रयाकसुटको नेपाली मूल्य झण्डै डेढ लाख रुपैयाँ बराबर पर्छ। “हामी विदेशमा भए पनि हामीलाई गाउँको माटोले तान्छ,” लिम्बु भन्छन्, “गाउँका युवाहरू बिग्रिनु हुँदैन भन्ने सोचले उनीहरूलाई खेलकुदप्रति आकर्षण गराउन यो प्रयास गरिएको हो।”

क्लबका अध्यक्ष निशान मेनेङ्गबो लिम्बू भन्छन्, “अब हामी गोर्खाली स्पोर्टिङ क्लबलाई विधिवत रूपमा दर्ता गरेर व्यावसायिक ढंगले भलिबल खेल्ने योजना बनाउँदैछौँ।” उनका अनुसार क्लब सञ्चालनका लागि गाउँका युवाहरू आफैँले कम्तीमा ५० रुपैयाँ मासिक बचत गर्ने गरेका छन्। “हाम्रो सानो प्रयासबाट ठूलो परिणाम आउन सक्छ,” उनले थपे, “हामीसँग जोस छ, योजना छ र अब सहयोग जुटाउन सकियो भने यसलाई अझ व्यावसायिक रूपमा विस्तार गर्न सकिन्छ।”

यो क्लब वडा नं ८ को एक मात्र सक्रिय भलिबल टिम हो। यसमा युवायुवती दुबैले नियमित रूपमा सहभागिता जनाउने गरेका छन्। भलिबलको अभ्यासका लागि आवश्यक जर्सी, बल, जाल, जुत्तालगायतको व्यवस्थामा हाल स्थानीय तहको साथ नपाएको अवस्थामा व्यक्तिगत सहयोग नै मुख्य स्रोत बनेको छ।

गाउँमा क्रियाशील यस्ता क्लबहरूले युवालाई आत्मानुशासन, समुहगत प्रयास र नेतृत्व विकासमा समेत सहयोग पुर्‍याउने भएकाले स्थानीय निकायले पनि यस्ता पहललाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here