युवामा मेरुदण्ड दुख्ने रोग ‘स्पोनडाइलो आर्थराइटिस’

0
1164


केही मानिसमा आराम गर्दा मेरुदण्ड दुख्ने तर काम वा हिँडडुल गर्दा कम हुने समस्या देखिन्छ । यसलाई ‘स्पोनडाइलो आर्थराइटिस’ अर्थात् बोलीचालीको भाषामा मेरुदण्डको बाथ भनिन्छ । यसलाई सामान्य रुपमा मेरुदण्डको रोगको रुपमा लिइए पनि यसले शरीरका अन्य जोर्नी र अंगमा पनि उत्तिकै असर गरिरहेको हुन्छ । यो केवल मेरुदण्डको बाथ मात्र नभई दीर्घकालीन रोग हो ।

यो रोग महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्छ । विशेषगरी कम उमेरका पुरुषमा यो समस्या बढी देखिन्छ । यो रोग अन्तर्गत एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस, रियाक्टिभ आर्थराइटिस, सोरियाटिक आर्थराइटिस, इन्टेरोपेथिक आर्थराइटिस र जुभेनियल (१६ वर्ष मुनिका बच्चामा हुने) स्पोनडाइलो आर्थराइटिस पर्दछन् ।

तर, यसमा सबैभन्दा प्रमुख समस्या भनेको एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस नै हो । यो आर्थराइटिस सामान्यतया वंशाणुगत रुपमा जसमा ‘एचएलए बी २७’ जीन पोजेटिभ हुन्छ, उनीहरुमा देखिने गर्दछ । यस बाहेक आन्द्रमा हुने जीवाणुको संक्रमणले यी समस्या देखिने तथ्यहरु फेला परेका छन् ।

एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिसमा विशेषगरी मेरुदण्ड, कम्मर र मेरुदण्डबीचको हड्डीमा असर गर्छ । यो समस्या २० देखि ४० वर्षबीचका पुरुष युवामा बढी देखिन्छ ।

रियाक्टिभ आर्थराइटिस पिसाबको संक्रमण वा पखाला लागेको केही दिनदेखि केही हप्तापश्चात् पनि देखापर्न सक्छ । जसमा शरीरका ठूला जोर्नीमा असर गर्छ । धेरैजसो खुट्टाका जोर्नीमा समस्या देखिन्छ ।

सोरियाटिक आर्थराइटिस सोराइसिस भन्ने छालाका रोगीमा देखिन्छ । जसमा शरीरका साना तथा ठूला दुवै जोर्नीमा असर पर्न सक्छ ।
इन्टेरोपेथिक आर्थराइटिस आन्द्राको अल्सरेटिभ कोलाइटिस र क्रोन्स रोग भएका बिरामीमा देखिन्छ । आन्द्राको यी समस्यामा पेट दुख्ने, दीर्घकालीन पखाला लाग्ने, दिसामा रगत जाने, तौल घट्ने जस्ता लक्षण देखिन्छन् । इन्टेरोपेथिक आर्थराइटिसमा मेरुदण्ड र कम्मरबीचको जोर्नी तथा घुँडामा दुख्ने समस्या हुन्छ ।

लक्षण

सबैभन्दा बढी हुने ‘एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस’ को प्रमुख लक्षण ढाडको तल्लो भाग दुख्नु हो । यो दुखाइ महिनौंसम्म रहिरहन्छ र बिस्तारै बढ्दै जान्छ । आराम गर्दा ज्यादा दुख्ने र केही काम वा हिँडडुल गर्दा दुखाई कम हुने यसका विशेषता हुन् । यसका साथै बिहान उठ्दा शरीर कक्रिएजस्तो हुन्छ ।

जुन हिँडडुल गर्न थालेपछि बिस्तारै कम हुँदै जान्छ । दुखाइका कारणले रातको दोस्रो प्रहरमा बिरामीको निद्रा टुट्ने, ढाडको तत्लो भाग पालैपालो दुख्ने जस्ता लक्षण देखिन सक्छन् । दुखाइका कारण निहुरिन गाह्रो हुने हुनाले दैनिक कामकाजमा कठिनाई हुन्छ । यसका साथै बिरामीमा थकान तथा कमजोरी महसुस हुन्छ । लामो समयससम्म उपचार नभएमा हड्डीमा परेको असरका कारण ढाड कुप्रिने, घाँटी चलाउन कठिनाई हुने समस्या निम्तिन्छ । कहिलेकाही यो रोगमा हात वा खुट्टाको पुरै औला सुन्निएर दुख्ने पनि हुनसक्छ । खुट्टा टेक्ने बेलामा कुर्कुच्चा दुख्नु यो रोगको अर्को लक्षण हो ।

जटीलता

यस रोगले जोर्नी बाहेक आँखा, मुटु, मृगौला र आन्द्रामा पनि नकारात्मक असर पु¥याउन सक्छ । कहिलेकाहीँ यो रोगमा अकस्मात् आँखा रातो भएर दुख्ने र दृष्टिमा समस्या आउने हुन सक्छ । उपचार नगरेको खण्डमा मृगौला फेल हुने तथा मुटुको भल्भको समस्याका कारण मानिसको मृत्यु पनि हुन सक्छ ।

पहिचान

यो रोगको शंका लागेमा आवश्यकता अनुसार रगत परीक्षण, एक्स–रे तथा एमआरआई गराइन्छ । रगत परीक्षणमा एचएलए बी २७ जीनको परीक्षण यसको विशेष जाँच हो ।

उपचार

रोग पहिचान भएपछि यसको उपचार सम्भव छ । यो रोगका लागि खाने औषधिका साथै इन्जेक्सनहरु पनि उपलब्ध छन्, जसलाई बायोलोजिक्स भनिन्छ । बायोलोजिक्स छालामा दिने र नशामा दिने दुबैखालका हुन्छन् । बिरामीको अवस्था हेरेर कुन प्रकारको औषधि दिने हो, त्यो निर्णय विशेषज्ञ चिकित्सकले गर्ने गर्छन् । औषधि बाहेक यो रोगको उपचारसँग जोडिएको महत्वपूर्ण पक्ष नियमित व्यायाम हो । व्यायामले मेरुदण्ड स्वस्थ्य रहन मद्दत पु¥याउनुका साथै मंशपेशी बलियो बनाउने, दुखाई कम गर्न एवम् शरीर कक्रन कम गर्न मद्दत गर्छ ।

मेरुदण्डमा मात्र नभई शरीरका अन्य जोर्नी र अंगमा समेत नकारात्मक असर पुर्याउने हुनाले स्पोनडाइलो आर्थराइटिसको समयमै निदान र उपचार गर्नुपर्छ । समयमै उपचार गराएमा यसबाट हुने गम्भीर जटिलताबाट समयमा नै बच्न सकिन्छ ।
डा. बिष्ट बाथरोग विशेषज्ञ हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here