बिर्तामोड।
झापामा जगत् गुरु शंकराचार्यको १२३०औं जन्मजयन्ती मनाइएको छ । नेपाल दशनामी समाज झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा बिर्तामोडमा जगत्गुरु शंकराचार्यको जन्मजयन्ती मनाइएको हो ।
समाजका झापा वरिष्ठ उपाध्यक्ष एलवी गिरीको अध्यक्षता तथा केन्द्रीय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा समाजका केन्द्र, प्रदेश नं. १, झापा, बिर्तामोड नगर, कनकाई नगर लगायतका विभिन्न समिति तथा दशनामी बन्धुहरुले शंकराचार्यको तस्वीरमा फूलमाला, अविर र गुच्छाले माल्यापर्ण गरेका थिए ।
कार्यक्रमका समाजका प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले शंकराचार्यका वारेमा जानकारी गराउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । अनुसन्धानहरुबाट शंकराचार्यको जन्म वि.सं. ७४३ बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा भएको तथ्यबाट थाहा भएको उनले बताए । शंकराचार्यको विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी जानकारहरुको तथ्यबाट थाहा भएको उनको भनाई छ ।
उनले भने– ‘जानकारहरुका अनुसार शंकराचार्यका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म कोही सन्तान नभएपछि पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चन्द्रमौली भगवान शंकरको कठोर आराधना गरेका थिए । उनको आराधनापछि भगवान शंकरले ‘म आफैं पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु’ भनेको तथ्यबाट थाहा भएको छ ।
जन्म भएको आठ वर्षमा संन्यास ग्रहण गरी व्यास परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दूधर्मका मूलतत्वको जानकारी दिँदै आधा एसिया भ्रमण गरेका थिए । आचार्यको मृत्यु ३२ वर्षको उमेरमा भएको मानिन्छ । मृत्युअघि भ्रमण गरेको महत्वपूर्ण तीर्थ नेपालको पशुपतिनाथ हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल मानिदै आएको छ ।’
आचार्य शंकरको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरिक भाष्य भने सर्वाधिक महत्वपूर्ण कृति हो । श्रीमद् भागवत गीताको शंकर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ ।
कार्यक्रममा समाजका प्रदेश नं. १ सहसचिव पदमबहादुर पुरी, ‘प्रकाश’, झापा महिला अध्यक्ष पार्वता गिरी, क्षेत्र नं. २ का अध्यक्ष सूर्यप्रसाद गिरी, बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, कनकाई नगर अध्यक्ष नारद गिरी, झापा सचिव कुलबहादुर गिरी, जिल्ला सदस्य तारानाथ गिरी, जीतवहादुर बन, नरबहादुर वन, पूर्व बिर्तामोड नगर अध्यक्ष शंकर गिरी, पूर्व जिल्ला सदस्य तेजबहादुर गिरी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका बिर्तामोड नगर सचिव उद्वव पुरीले गरेका थिए ।