बिर्तामोड, वीरता लेडी जेसीजले झापाको बिर्तामोड नगरपालिका ३ र १० मा रहेका मुसहर महिलालाई लक्षित गरी शनिबार एक दिने पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ ।
अतिविपन्न तथा सीमान्तकृत मुसहर जातिका महिलाहरुको स्वास्थ्य अवस्थाबारे चासो राख्दै शिविर आयोजना गरेको लेडी जेसीजकी अध्यक्ष सरु भूर्तेल खनालले जानकारी दिइन ।

मुसहर बस्तीमा अधिकांश कलिलो उमेरमै विवाह गरेका महिलाहरु छन् । सन्तान जन्माउने उमेर नपुग्दै ४–५ सन्तानकी आमा भइसकेका मुसहर महिलाहरुमा प्रजनन शिक्षा तथा स्वास्थ्यबारे ज्ञानको अभाव छ । शिविरमा मुसहर महिलाको पाठेघरको मुखको परीक्षण गर्नुका साथै उनीहरुलाई प्रजनन स्वास्थ्यबारे पनि पर्याप्त जानकारी दिएको अध्यक्ष खनालले बताइन । परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा गरिएको शिविरमा मुसहरसहित बिर्तामोड ९ नडियाबारीका अन्य समुदायका महिलासहित ५० बढीले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए ।
शिविरमा १२ बर्षीया एक बालिकासहित चार जना महिलाको पाठेघरको मुखमा क्यान्सरको सम्भावना देखिएको छ । मुसहर बस्तीकी ३० बर्षीया जासो ऋषिदेवको ८ जना सन्तान छन् । प्रजनन शिक्षा नपाएकी उनी २८ दिनकी सुत्केरी छिन् । आर्थिक अवस्था दयनिय रहेका मुसहर महिलाहरुले बर्षेनीजस्तै सन्तान जन्माउने गरेकाले उनीहरुको स्वास्थ्य कमजोर बन्दै गएको छ । शिविरमा मुसहरलाई कपडा समेत वितरण गरेको जेसी स्वास्तिका आचार्यले जानकारी दिइन ।
सीमान्तकृत र राज्यको पहु“चबाट टाढा रहेका मुसहर महिलाको स्वास्थ्य अवस्थाप्रति चासो देखाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य मनकुमार गौतम, वडाध्यक्ष भोजराज सिटौलालगायतले लेडी जेसीजको प्रशंसा गरेका थिए । गौतम, सिटौलासहित मुसहर बस्ती विकास निर्माण समितिका अध्यक्ष इन्द्रसिंह राजवंशी, इनरवेलकी अध्यक्ष भूमिका पोखरेल, लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारी, संस्थापक अध्यक्ष सारदा रिजाललगायतले मुसहर महिलाका लागि लेडी जेसीजले गरेको कार्यक्रमको चर्चा गरेका थिए । अध्यक्ष सरु भूर्तेल खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्तिका आचार्यले स्वागत मन्तव्य, विमला भट्टराईले जेसीज आस्था वाचन तथा संगीता गिरीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।