बिर्तामोड, फोहोर, गोबर, मलमूत्र जस्ता खेर जाने बस्तुबाट खाना पकाउने ग्यास उत्पादन गर्न सकिने भएपछि बिर्तामोड नगरपालिकाले नगरवासीलाई यसतर्फ आकर्षित गरेको छ ।
घर–घरमा गोवर ग्यास जडान गर्न नगरपालिकाले आर्थिक सहयोग गर्दै पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गर्न थालेपछि बिर्तामोडवासीले अहिले गोवर ग्यास जडानलाई तीव्रता दिएका छन् । चालूआर्थिक वर्षमा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा एक सय घरमा वायो ग्यास जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम अन्तरगत एक सय परिवारका लागि वायो ग्यास जडान गरिएको हो ।
नगरपालिकाले प्रति परिवार १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको र वैकल्पिक ऊर्जा कार्यक्रमबाट २२ हजार आठ सय रुपैयाँ बायो ग्यास निर्माणका लागि सहयोग भएको राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम अधिकृत पदमराज घिमिरेले बताए । एक घरमा बायो ग्यास निर्माणका लागि ६४ हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ । नगरपालिकाले बायो ग्यास निर्माणका लागि १० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । संघीय सरकारबाट चार लाख २० हजार रुपैयाँ सहयोग प्राप्त भएको कार्यक्रम अधिकृत घिमिरेले बताए ।
घिमिरेका अनुसार बिर्तामोड–७मा सबैभन्दा धेरै २२ घरमा वायोग्यास जडान गरिएको छ । त्यस्तै बिर्तामोड १०मा १९ घरमा बायो ग्यास जडान गरिएको छ भने ८मा १३ घरमा वायो ग्यास जडान गरिएको छ । घर घरमा बायो ग्यास जडान भएपछि स्थानीयवासी समेत उत्साहित बनेका छन् ।
२३ हजार ४ सय ७७ घर धुरी रहेको बिर्तामोडमा अधिकांशले एलपी ग्यास प्रयोग गर्ने गरेपनि नगरपालिकाले वायो ग्यास जडानका लागि आर्थिक सहयोग गरेपछि उनीहरुले एलपी ग्यास हटाएर बायो ग्यास जडान गरेको बताइएको छ । नगरवासीका लागि वायो ग्यास जडान गर्न नगरपालिकाले आठवटा कम्पनीसंग सम्झौता गरेको थियो ।